शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

‘बेलुकी फोन गर्छु आमा’ भन्दै बिदा भएका सिन्धुली तीनपाटनका दीपेश अब सधैंका लागि मौन

मंगलवार , कार्तिक २५, २०८२

सिन्धुली, २५ कात्तिक – “बेलुकी फोन गर्छु आमा,” १९ वर्षीय दीपेश सुनुवारको त्यो अन्तिम वाक्य आजसम्म पनि उनका आमाको कानमा गुञ्जिन्छ । भदौ २४ गते दिउँसो काठमाडौँको बानेश्वरमा आन्दोलनमा सहभागी दीपेशले आमालाई यसो भन्दै फोन राखेका थिए । तर त्यो फोनपछि उनी कहिल्यै घर फर्केनन्, कहिल्यै बोल्दैनन् । अब त सधैंका लागि मौन भइसकेका छन् ।

तीनपाटन गाउँपालिका–६ भलायोडाडाका दीपेशले गाउँको दयनीय आर्थिक अवस्थाले बाध्य भएर गत जेठमा राजधानीको बाटो समातेका थिए । उनले मजदुरी गरेर पैसा कमाउने, त्यसपछि विदेश गएर घरको अवस्था सुधार्ने सपना बोकेका थिए । तर त्यो सपना अधुरै रह्यो । जेन–जी आन्दोलनको गोलीले उनको जीवनको किताब भदौ २४ कै पानामा टुंग्याइदियो ।

गाउँकै दुर्गम पाखा भलायोडाडामा अहिले सन्नाटा छाएको छ । दीपेशका आमा भिममाया सुनुवार सधैं छोराको यादमा आँसु झार्छिन् । “भन्ने गथ्र्यो , आमा, केही महिनापछि विदेश जान्छु, धेरै पैसा कमाएर घर बनाउँछु । तर अब त त्यो सपना पनि जल्न थाल्यो,” उनले दुखेसो पोखिन् ।

कक्षा ९ पछि पढाइ रोक्दै दीपेश जेठ महिनामा मजदुरीको सिलसिलामा राजधानी गएका थिए । साथीहरूसँग ठूला सपना बाँडेका उनले मजदुरी गर्दै बेलुकीहरूमा घर फोन गर्थे । तर भदौ २४ को बिहान उनले आमालाई अन्तिम पटक फोन गरे । आन्दोलनमा गएका थिए, बेलुकी फोन गर्छु भनेका थिए । त्यसपछि त्यो आवाज कहिल्यै फर्किएन ।

भदौ २४ गते बानेश्वरमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर दीपेश गम्भीर घाइते भएका थिए । साथीहरूले तुरुन्तै उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याए, तर चिकित्सकले मृत घोषणा गरे ।

तीनपाटनका दीपेश ती युवामध्ये एक थिए जसले देशमा सुशासन र पारदर्शिताको माग गर्दै सडकमा आवाज उठाएका थिए । उनी विद्यार्थीहरूमाथि भएको दमनको विरोधमा सामेल भएका थिए । गाउँमा सधैं सामूहिक भावना भएका दीपेश गाउँका विकासका स–साना योजनामा पनि सक्रिय रहन्थे । छिमेकी गोपाल बिक भन्छन्, “दीपेश सधैं अघि सर्ने, अरूको हकका लागि बोल्ने मान्छे थिए। त्यही भावना लिएर आन्दोलनमा उत्रिए ।”

दीपेश परिवारमा उनका बुबा आमा र दुई भाइ छन्। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ । “हाम्रो घरमा आम्दानीको स्रोतै छैन । जेठो छोरा गयो, कान्छोले अझ पढ्न बाँकी छ। सरकारले उसको पढाइमा सहयोग गरिदियो भने सजिलो हुनेथियो,” आमा भिममायाको विनम्र अनुरोध हो ।

नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार, मृतक परिवारहरूलाई राहत रकम वितरण भइसकेको छ । “सहिद परिवारका लागि राहत रकम उपलब्ध गराइएको छ, तर घाइतेका परिचयपत्रका लागि अझै केही प्रक्रियाहरू बाँकी छन्,” उनले बताए ।

भलायोडाडाका गाउँलेहरू अहिले पनि दीपेशको नाम उच्चारण गर्दा भावुक बन्छन् । उनीहरू भन्छन्, “दीपेश जस्ता युवाले आफ्नो ज्यान दिएर सुशासन र न्यायको माग गरे । अब सरकार र हामी सबैले त्यो सपना पुरा गर्नुपर्छ ।”

स्थानीयहरूका अनुसार, जेनजी आन्दोलन केवल राजधानीको मुद्दा होइन । यो देशभरका असन्तुष्ट युवाको आवाज हो। “दुर्गम बस्तीबाट काठमाडौं पुगेका हाम्रा छोराछोरीहरू न्याय माग्दै सडकमा उत्रिँदा गोली खानु परेको हो, यो राष्ट्रका लागि लाजको विषय हो,” ।

सरकारले सहिद घोषणा गरे पनि, ती सहिदका सपना अझ अधुरा छन्। परिवारहरूलाई राहत रकमले क्षतिपूर्ति त दिन सक्छ, तर भावनात्मक शून्यताको भरपाई गर्न सक्दैन। गाउँमा हरेक साँझ दीपेशकी आमाको आँसुले त्यो सत्य झल्काउँछ।

राज्यले जेनजी आन्दोलनको मागहरूलाई सम्बोधन गर्दै पारदर्शिता, सुशासन र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्नुपर्ने आवाज उठ्दैछ। दीपेश र उनका जस्तै सयौं युवाको बलिदान व्यर्थ नहोस् भन्ने चाहना अब गाउँदेखि राजधानीसम्म फैलिएको छ।

“बेलुकी फोन गर्छु आमा,” — यो केवल एक वाक्य होइन, हजारौं आमाहरूको प्रतीक्षा र पीडाको प्रतीक बनेको छ। दीपेशले आफ्नो जीवन गुमाएर देशलाई एउटा प्रश्न छोडेका छन् । के नेपालका युवाको सपना सधैं बलिदानमै अन्त्य हुने हो ?

दीपेशको बलिदान अब भुलिनु हुँदैन। उनले खोजेको सुशासन, पारदर्शिता र न्यायको सपना पूरा गर्नु हाम्रो साझा जिम्मेवारी हो ।

प्रतिक्रिया