सिन्धुली,२५ कात्तिक – सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–११, बस्तिपुरमा एक महिलाले पानी ठान्दै गल्तीवश एसिड पिउँदा गम्भीर रूपमा घाइते भएकी छन् । जिल्ला अस्पताल सिन्धुलीका अनुसार, ५० वर्षीया बालकुमारी खड्काले घरमा राखिएको एसिडलाई पिउने पानी ठानेर पिएपछि उनको स्वास्थ्य अवस्था एकाएक गम्भीर भएको हो ।
घटना सोमबार बिहान घटेको हो । परिवारका सदस्यहरूले बताएको अनुसार, बालकुमारीले प्लास्टिकको बोतलमा राखिएको एसिडलाई पानी सम्झेर पिएकी थिइन । त्यसपछि उनी अत्यन्त पीडामा छटपटाउन थालिन् । छटपटाइरहेको देखेपछि उनका छोरा अर्जुन खड्काले तत्काल घटनाको जानकारी स्थानीयलाई गराउँदै उनलाई जिल्ला अस्पताल सिन्धुली पुर्याएका थिए ।
जिल्ला अस्पताल सिन्धुलीमा उपचारपछि चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको बताउँदै थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाएका थिए । जिल्ला अस्पतालका प्राविधिक सहायक सागर राईले घटनाको पुष्टि गर्दै भने, “बालकुमारी खड्काले गल्तीवश एसिड पिउनु भएको रहेछ । हामीले प्राथमिक उपचारपछि उनलाई मिति २०८२ साल कात्तिक २५ गते राति करिब १ बजे धुलिखेल अस्पताल रिफर गरेका हौं ।”
राईका अनुसार, बिरामीको मुख, घाँटी र पेटमा गम्भीर जलनका कारण उनी बोल्नसमेत नसक्ने अवस्थामा छिन् । एसिडको मात्रा कति थियो भन्नेबारे भने अझै स्पष्ट नभएको र थप चिकित्सकीय परीक्षणपछि मात्र बताउन सकिने जनाइएको छ ।
परिवारका सदस्यहरूले दिएको जानकारीअनुसार, उनलाई धुलिखेल हुँदै बिहान ५ः३० बजेतिर काठमाडौँ मेडिकल कलेज पु¥याइएको हो । अहिले त्यहाँका चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार, खड्काको स्वास्थ्य अवस्था अझै नाजुक रहेको छ र उनी बोल्न नसक्ने अवस्थामा छन ।
छोरा अर्जुन खड्काले भने, “आमाले पानी ठानेर पिउनुभएको थियो। तुरुन्तै छटपटाउन थाल्नुभयो। हामीले हतारहतार अस्पताल ल्यायौं। अहिले काठमाडौँमा उपचार भइरहेको छ ,।”