शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा अटोले ठक्करबाट महिला गम्भीर घाइते !

शनिवार , कार्तिक २२, २०८२

सिन्धुली, २२ कात्तिक – सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजारस्थित मदन भण्डारी राजमार्गमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक पैदलयात्री गम्भीर घाइते भएकी छन् ।

प्रहरीका अनुसार साँझ करिब ५ः४५ बजे मरिण गाउँपालिका–७ का ४० वर्षीय चालक भोजबहादुर बैजुले चलाएको बा.प्र. ०७–००१ ह ००३७ नम्बरको अटोले सोही दिशा हुँदै सिन्धुली बजारतर्फ आइरहेकी पैदलयात्री भोजमाया श्रेष्ठलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेकी ४५ वर्षीया श्रेष्ठको दाहिने गालामा चोट लाग्नुका साथै दाहिने कानबाट रगत बगेको प्रहरीले जनाएको छ ।

घाइते श्रेष्ठलाई तुरुन्तै जिल्ला अस्पताल सिन्धुली पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था गम्भीर देखिएपछि साँझ करिब ७ः४५ बजे थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरी जानकारीमा उल्लेख छ ।

दुर्घटनापछि अटो र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार अटो उच्च गतिमा रहेको र सडकको बायाँतिर पैदलयात्री हिँडिरहेकी बेला ठक्कर लागेको हुनसक्ने अनुमान गरिएको छ ।

घाइतेको श्रीमान् पनि घटनास्थलमा उपस्थित रहेका थिए र उपचारमा संलग्न रहेको प्रहरीले बताएको छ । घटनास्थलमा तत्काल प्रहरी पुगेर उद्धार तथा ट्राफिक व्यवस्थापन गरेको थियो ।

स्थानीयवासीले उक्त सडक खण्डमा सवारीको तीव्र गति र पैदलयात्रीका लागि सुरक्षित पदमार्ग नहुँदा पटक–पटक दुर्घटना हुने गरेको गुनासो गरेका छन् । उनीहरूले स्थानीय प्रशासन र नगरपालिकालाई सडकमा स्पीडब्रेक र चेतनामूलक साइनबोर्ड राख्न आग्रह गरेका छन् ।

पछिल्लो समय मदन भण्डारी राजमार्गको धुराबजार–सिन्धुली बजार खण्डमा सवारी चाप बढेसँगै ट्राफिक सुरक्षासम्बन्धी चुनौती थपिँदै गएको जनाइएको छ ।

प्रतिक्रिया