सिन्धुली, – सिन्धुलीमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले शुक्रबार सिन्धुली जिल्लामा पहिलोपटक स्थानीय पत्रकारहरूसँग भेटघाट गरेकी छिन । जिल्लाको समसामयिक अवस्था, सञ्चारको भूमिकाबारे खुलेर छलफल गर्दै उनले सूचनाको शुद्धता र पत्रकारिताको जिम्मेवारीबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरिन ।
श्रेष्ठले भेटका क्रममा हाल समाजमा फैलँदो मिसइन्फर्मेसन (गलत जानकारी) र डिसइन्फर्मेसन (जानाजान गलत सूचना प्रवाह) को प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरिन । “सूचना प्रवाहमा सन्तुलन र सत्यता अत्यावश्यक छ । अपूर्ण वा गलत जानकारीले समाजमा जटिल परिस्थितिहरू सिर्जना गर्न सक्छ । त्यसैले पत्रकारहरूले तथ्यमा आधारित समाचार प्रसारणमा जोड दिनुपर्छ,“ उनले भनिन ।
श्रेष्ठले पत्रकारितालाई लोकतन्त्रको मेरुदण्ड बताउँदै स्थानीय प्रशासन र सञ्चारकर्मीबीच सधैं सहयोगी सम्बन्ध रहनुपर्ने धारणा राखिन । उनले भनिन, “पत्रकार र प्रशासनबीचको संवादले मात्र जनतालाई सही सूचना पु¥याउन सकिन्छ । हामी सबैको लक्ष्य समाजमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नु हो ।”
उनँले सिन्धुलीमा आफ्नो कार्यकालमा सद्भावपूर्ण समन्वय, सुसासन प्रवद्र्धन र जनसेवामुखी प्रशासन स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन । श्रेष्ठले जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार, नागरिक समाज र सञ्चारमाध्यमबीच सहकार्यका माध्यमबाट प्रशासनिक सेवा अझ प्रभावकारी बनाउन पहल गर्ने बताइन ।
उनका अनुसार, “जनताको भरोसा जित्ने प्रशासन नै सशक्त प्रशासन हो । म सबै तहका सरोकारवालासँग खुलेर सहकार्य गर्न चाहन्छु ।”
श्रेष्ठले जिल्लामा देखिएका विभिन्न विकासका चुनौती, भौगोलिक कठिनाइ र प्रशासनिक सीमितता समाधान गर्न समन्वय र पारदर्शी नीतिलाई प्रमुख प्राथमिकतामा राख्ने बताइन ।
कार्यक्रममा उपस्थित पत्रकारहरूले पनि नयाँ प्रजिअलाई स्वागत गर्दै जिल्लाको शान्ति सुरक्षा, विकास र सूचना व्यवस्थापनमा सशक्त नेतृत्वको अपेक्षा व्यक्त गरे । उनीहरूले प्रशासन र सञ्चारबीच नियमित संवाद र सूचनाको पहुँचलाई अझ व्यवस्थित बनाउने सुझाव पनि दिए ।
सिन्धुलीमा पछिल्ला वर्षहरूमा प्रशासनिक परिवर्तनसँगै विभिन्न विकास योजनाहरू कार्यान्वयनको चरणमा छन् । यस सन्दर्भमा, नयाँ सिडिओ श्रेष्ठको आगमनले स्थानीय प्रशासनमा नयाँ ऊर्जा र पारदर्शी कार्यशैलीको सुरुवात हुने अपेक्षा गरिएको छ ।
सञ्चारकर्मीहरूसँगको भेटले जिल्ला प्रशासन र सञ्चार जगतबीच सहयोगी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ । श्रेष्ठले अन्त्यमा भनिन, “सही सूचना प्रवाह र जनताको विश्वास नै हाम्रो बल हो । त्यसलाई जोगाउन पत्रकार र प्रशासन दुवैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ ।”