शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा लागुऔषध हिरोइनसहित दुई पक्राउ

शुक्रवार , कार्तिक २१, २०८२

सिन्धुली,२१ कात्तिक —सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानस्थित वि.पी. राजमार्गमा प्रहरी टोलीले लागुऔषधसहित दुई युवालाई नियन्त्रणमा लिएको छ । आज करिब ११ः५५ बजे इप्रका भिमानका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त प्रहरी चेकिङ टोलीले विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ७२६ नम्बरको हायस गाडीलाई रोक्दै जाँच गर्ने क्रममा ती युवाहरू पक्राउ परेको जिल्ला प्रहरी कर्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार हायसमा सवार काठमाडौँ महानगरपालिका–१६ बस्ने करिब ३० वर्षीय असिम थापा र २७ वर्षीय सविन मगरलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो । उनीहरूबाट लुकाइछिपाई ल्याइएको खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ १५.८३० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद पदार्थ परीक्षणका लागि पठाइएको र प्रारम्भिक परीक्षणमा लागुऔषधको गुण पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भिमानमा थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रहरीले पछिल्ला दिनमा वि.पी. राजमार्ग हुँदै राजधानीतर्फ लागुऔषध ढुवानी बढेको भन्दै चेकिङ कडाइ गरिएको जनाएको छ । स्थानीयवासीले चेकपोष्टमा प्रहरीले गरेको सक्रियताले क्षेत्रमा लागुऔषध नियन्त्रणमा सकारात्मक प्रभाव परेको बताएका छन् । प्रहरीले भने “लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिइएको छ, आवश्यक परे थप विशेष अपरेसन सञ्चालन गरिनेछ” भनेर जनाएको छ ।

प्रतिक्रिया