सिन्धुली,२१ कात्तिक — जिल्लामा दिनदिनै बढ्दो मोटरसाइकलको हुलदंगा, अनावश्यक हर्न, र राति अबेरसम्म ठूलो आवाजमा कुदाइका कारण स्थानीय बासिन्दा हैरान बनेका बेला प्रहरीले यस विरुद्ध ठोस कदम चाल्दै ‘शून्य सहनशीलता नीति’ अन्तर्गत कारबाही थालेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बिहिवार ट्राफिक प्रहरीको सहकार्यमा संयुक्त आकस्मिक चेकपोइन्ट अभियान सञ्चालन गर्दै, अवैध रूपमा मोडिफाइ गरिएका र ठूलो आवाज निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिन तिव्र चेकजाँच सुरु गरेको छ । अभियानको सुरुवाती चरणमै प्रहरीले चारवटा मोटरसाइकल र तिनका चालकहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार, पछिल्लो समय सिन्धुली बजार, र आसपासका सडकमा युवाहरूले साइलेंसर फेरेर अत्यधिक आवाज निकाल्ने, अनावश्यक रूपमा मोटरसाइकल दौडाउने, र सार्वजनिक ठाउँमा ‘स्टण्ट’ प्रदर्शन गर्न थालेपछि सर्वसाधारणबाट पटक–पटक गुनासो आएको थियो । स्थानीयवासीको सुरक्षा र सडक शान्तिका लागि यो अभियान अनिवार्य भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सुवेदीले बताएका छन ।
उनले भने, “हामीले यसलाई एकदुई दिनको अभियानको रूपमा होइन, निरन्तर अनुगमनको रूपमा अघि बढाउने योजना बनाएका छौं । जुनसुकै व्यक्ति सवारी नियम उल्लंघन गर्छ, कानूनी कारबाही हुनेछ ।”
प्रहरीले सवारी चालकहरूलाई सन्देश दिँदै, सवारी साधनमा अनधिकृत परिवर्तन नगर्न, साइलेंसर फेर्नेजस्ता काम नगर्न र सडकमा अनुशासन कायम गर्न अनुरोध गरेको छ । नियम उल्लंघन गर्नेहरूमाथि सवारी ऐन अन्तर्गत जरिवाना र सवारी जफत समेतको कारबाही हुने प्रहरीले जनाएको छ ।
स्थानीय नागरिकले प्रहरीले थालेको यो पहललाई स्वागत गर्दै भनेका छन्, “राति सुत्नै नसक्ने अवस्था थियो, अब कम्तीमा केही राहत पाइने आशा छ ।”
सिन्धुली प्रहरीले भने, यस्ता चेकिङ अभियानहरू दैनिक र अनियमित अन्तरालमा सञ्चालन गरिने र विद्यालय तथा बजार क्षेत्रमा विशेष निगरानी राखिने जनाएको छ ।