शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कमलामाई नगरपालिकाका मेयर र प्रशासकीय अधिकृतबीच शक्ति संघर्ष तीव्र

बिहिवार , कार्तिक २०, २०८२

सिन्धुली, २० कात्तिक— कमलामाई नगरपालिकामा राजनीतिक र प्रशासनिक शक्ति–संघर्षले फेरि टाउको उठाएको छ । मेयर उपेन्द्र कुमार पोखरेल र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईबीच लामो समयदेखि दबिएको असमझदारी अहिले सतहमा आएको छ । पछिल्ला गतिविधिले दुवै पक्षबीचको सम्बन्धमा गहिरो दरार र आपसी अविश्वास स्पष्ट झल्किएको छ ।

एक महिनाभन्दा बढी समय लामो विदा लिएर बसेका प्रमुख प्रशासकीय अधिकृत भट्टराई आज कार्यालयमा फर्किए पनि विवादको ज्वाला अझै निभेको छैन । भट्टराईको पुनरागमनले प्रशासनिक सामान्यता फर्कने अपेक्षा गरिएको थियो, तर त्यसको ठीक उल्टो—मेयर पोखरेलले भट्टराई अझै विदामै रहेको भन्दै उनको उपस्थितिलाई अस्वीकार गरेका छन ।

कार्यपालिका बैठकमै असहज अवस्था

आज बिहान नगरपालिकाको कार्यपालिका बैठक बोलाइएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर ढकालका अनुसार बैठक सुरु हुनुअघि नै प्रमुख प्रशासकीय अधिकृत भट्टराई कार्यालय आइपुगिसकेका थिए । तर मेयर पोखरेल बैठकस्थलबाट बाहिरिएर बैठक दिउँसोका लागि सारियो ।

भट्टराईले आफू कार्यालयमा नियमित रूपमा उपस्थित भएको र कार्यपालिका बैठकमा समेत सहभागी हुन तयार रहेको बताउँदै मेयरले अनावश्यक रूपमा तनाव सिर्जना गरेको आरोप लगाए ।

मेयर पोखरेल भने फरक दाबी गर्छन । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतले अझै विदा अन्त्य नगरेको कारण आधिकारिक रूपमा काममा फर्किएको मान्यता दिन नसकिने हो । आज भएको पत्रकारहरूसँगको भेटमा उनले भट्टराई कार्यालयमा हाजिर नभएको र कार्यालयको काम प्रभावित भएको टिप्पणी गरे ।

विवादको जरो कहाँ ?

नगरपालिकाका निकट स्रोतका अनुसार यो विवाद कुनै एक दिनको होइन । करारका कर्मचारी कटौती, नयाँ नियुक्ति प्रक्रिया, उपभोक्ता समितिका भुक्तानी तथा विकास योजनाको प्राथमिकतामा मतभेदजस्ता विषयमा मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच लामो समयदेखि असहमति रहँदै आएको छ ।

स्रोतका भनाइअनुसार, करारका केही कर्मचारी हटाउने र नयाँ नियुक्ति गर्ने क्रममा मेयर पोखरेल र प्रमुख प्रशासकीय अधिकृत भट्टराईबीच भनाभन चर्किएको थियो । त्यसक्रममा मेयरले गालीगलौजसम्म गरेको आरोप पनि लागेको छ ।

त्यसपछि सुरक्षा कारण देखाउँदै भट्टराई विदामा बसेकोको श्रोतले जनायो । तर मेयर पक्षले भने उनको विदालाई ‘व्यक्तिगत कारण’ भन्दै सामान्य रूपमा चित्रण गर्दै आएको छ ।

प्रशासनिक सेवा प्रवाहमा असर

दुवै उच्च पदाधिकारीबीचको असमझदारीले नगरपालिकाको नियमित कामकाजमा असर परेको सेवाग्राहीहरूले गुनासो गर्न थालेका छन् । दैनिक प्रशासनिक निर्णयदेखि सामान्य कागजी प्रक्रिया समेत ढिलो भइरहेका छन् । कतिपय उपभोक्ता समिति र योजनाका भुक्तानी रोकिनु, बजेट कार्यान्वयनमा ढिलाइ हुनु, तथा कर्मचारीहरूबीच पनि द्विविधा बढ्नुजस्ता समस्याहरू सतहमा देखिन थालेका छन् ।

एक सेवाग्राहीले भने, “हामी सामान्य सिफारिस लिन आउँदा पनि कार्यालयका शाखा प्रमुखहरू अड्डी देखाउँछन् । माथि दुवै बीच कुरा नमिलेपछि सबै डराएर बसेका छन् ।”

राजनीतिक प्रभाव र समाधानको खोजी

कमलामाई नगरपालिकामा राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रबीचको सम्बन्ध विगतदेखि नै तनावपूर्ण रहँदै आएको मानिन्छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको भूमिकाको सीमा र अधिकारप्रयोगका विषयमा प्रष्टता नहुँदा यस्ता समस्या पटक–पटक देखिएका हुन् ।

स्थानीय राजनीतिमा सक्रिय एक व्यक्तिले नागरिकसँगको कुराकानीमा भने, “प्रशासनिक तटस्थता र राजनीतिक निर्णयबीचको सीमारेखा धुम्मिएको छ । यो समस्या केवल कमलामाईको होइन, धेरै स्थानीय तहमा समान रूपमा देखिएको रोग हो ।”

नगरपालिकाले अहिले कार्यपालिका बैठक स्थगित गरी दिउँसो पुनः आह्वान गर्ने तयारी गरेको छ । तर विवाद समाधानको सम्भावना तत्काल देखिँदैन ।

जनताका प्रश्न : कसले चलाउने नगरपालिका ?

नागरिक सरोकार समूहले भने तत्काल विवाद समाधान गरी सेवा प्रवाह सामान्य पार्न दुवै पक्षलाई आग्रह गरेका छन् । उनीहरूको भनाइमा, “नगरपालिका जनताको हो, व्यक्तिगत अहंकार र पदको द्वन्द्वको अखडा होइन ।”

अब प्रश्न उब्जिएको छ—कमलामाईको प्रशासनिक दिशा कोले सम्हाल्ने ? मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको यो विवाद समाधान हुने कि अझ चर्किने ? जनताको नजर अब यही प्रश्नमा टाँसिएको छ ।

प्रतिक्रिया