शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा ‘सुरक्षित आमाको यात्रा’माः घरमै बच्चा जन्माउने चलन शून्यतिर

बुधवार , कार्तिक १९, २०८२

सिन्धुली,१९ कात्तिक — सिन्धुलीका ग्रामिण गाउँको बिहान अब सुत्केरीको कराहा होइन, स्वास्थ्य चौकीमा सुत्केरीको हाँसो सुनिन्छ । सिन्धुलीका ग्रामीण बस्तीहरूमा ‘होम डेलिभरी’ (घरमै बच्चा जन्माउने चलन) लगभग अन्त्यतिर पुगेको छ । स्वास्थ्य संस्था पुगेर सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिलाको संख्या हरेक वर्ष बढ्दो छ ।

फिक्कल गाउँपालिका–५ का वडा अध्यक्ष बैकुण्ठलाल पहाडी भन्छन्, “अहिले हाम्रो वडामा घरमै बच्चा जन्माउने कोही छैन। स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालन भएपछि सबै गर्भवती महिला नियमित जाँच र बच्चा जन्माउन चौकी पुग्छन् ।”

फिक्कल गाउँपालिका–५ को स्वल्पाठान स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन भएपछि गर्भवती महिलाहरूको भीड बढेको छ । यहाँ कार्यरत सिनियर अहेव प्रलभ घिमिरेका अनुसार, आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनसँगै महिलाहरू घरभन्दा स्वास्थ्य संस्थामा सुत्केरी हुन प्राथमिकता दिन थालेका छन् । “वार्षिक १६ देखि २० जना गर्भवती महिला यहाँ सुत्केरी हुने गरेका छन्,” उनले बताए । “पहिले बाहिरका सुविधा सम्पन्न अस्पताल धाउने गर्भवतीहरू अहिले गाउँकै स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति गराउन आउँछन् ।”

पालिकाले गर्भवतीलाई स्वास्थ्य जाँचका लागि प्रत्येक पटक एक हजार रुपैयाँको यातायात खर्च उपलब्ध गराउँदै आएको छ । यसले गर्भवतीहरूलाई नियमित जाँच र सुरक्षित प्रसूति गर्न प्रेरित गरेको स्थानीयवासी बताउँछन् ।

स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लाका ९ वटा स्थानीय तहअन्तर्गत हाल ४१ वटा स्वास्थ्य चौकीमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा छन् । तीमध्ये दुधौली नगरपालिका र तिनपाटन गाउँपालिकामा समान सात–सात वटा, फिक्कल गाउँपालिकामा छ वटा, सुनकोसी गाउँपालिकामा पाँच वटा, कमलामाई नगरपालिकामा चार वटा, गोलन्जोर, घ्याङ्लेख, हरिहरपुरगढी र मरिण गाउँपालिकामा तीन–तीन वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् ।

यी बर्थिङ सेन्टरहरूले गाउँ–गाउँमा स्वास्थ्य सेवा विस्तार गर्न र गर्भवती महिलालाई सुरक्षित प्रसूति सेवामा पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेलिरहेका छज्न् । सेवा सञ्जाल बढेसँगै सिन्धुलीका ग्रामीण बस्तीहरूमा गर्भवती महिलाहरू घरमै बच्चा जन्माउने परम्परागत चलन घट्दै गएको र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने प्रवृत्ति तीव्र गतिमा बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ।गत आर्थिक वर्ष ०८१÷०८२ मा सुत्केरी भएका १,८३९ मध्ये १,६१८ जनाले स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति गरेका छन् भने बाँकीले घरमै बच्चा जन्माएका थिए । १५ बच्चा मृत जन्मिएका थिए ।

कार्यालय प्रमुख बिमल पटेलका अनुसार सुरक्षित प्रसूति बढाउन कार्यालयले जनचेतनामूलक प्रचार–प्रसार, बर्थिङ सेन्टरको गुणस्तर सुधार, र नियमित अनुगमन निरीक्षणजस्ता कार्यलाई प्राथमिकता दिएको छ ।

जिल्लाकै ठूलो सिन्धुली अस्पतालले पछिल्लो समय भरपर्दो प्रसूति सेवा सञ्चालन गरेपछि आमाबाबुहरूका लागि ठूलो राहत भएको छ । अस्पताल विकास समितिका अध्यक्ष शतिष ढकालका अनुसार, “पहिले प्रसूति सेवाकै लागि धेरैलाई राजधानी काठमाडौँ वा हेटौंडा धाउनुपथ्र्यो, अहिले जिल्लामै गुणस्तरीय सेवा पाउन थालेका छन् ।”

अस्पतालमा आमा सुरक्षा कार्यक्रमअन्तर्गत सबै प्रसूति सेवाहरू निःशुल्क उपलब्ध छन् । यसले आर्थिक रूपमा कमजोर वर्गका महिलाहरूलाई थप सहज बनाएको छ । सिन्धुलीका गाउँपालिकाहरूले सुरक्षित प्रसूति प्रोत्साहनका लागि फरक–फरक योजना ल्याएका छन् । तिनपाटन गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर गर्भावस्थामा आठ पटक स्वास्थ्य जाँच गरी सुत्केरी हुने महिलालाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्छ ।

तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरका भने, “घरमा सुत्केरी हुँदा आमा र शिशु दुवैको ज्यान जोखिममा पर्न सक्छ । त्यसैले हामीले सरकारले दिने सुत्केरी भत्तामा थप रकम दिएर सुरक्षित प्रसूति प्रोत्साहन गरेका छौं ।”

स्थानीय महिलाहरूका अनुसार अब प्रसूति ‘जोखिम होइन, आत्मविश्वास’को विषय बनेको छ । गाउँमै सेवा उपलब्ध भएपछि सुत्केरी हुन डराउने चलन हराउँदै गएको छ । फिक्कलकी २४ वर्षीया सपना पहाडी भन्छिन्, “पहिले आमाहरू घरमै बच्चा जन्माउँथे, अहिले हामी सबै अस्पताल जान्छौं। त्यहाँ न त पैसा लाग्छ, न त डर।”

सिन्धुलीमा स्वास्थ्य चौकीहरूमा प्रसूति सेवा विस्तार र प्रोत्साहन योजनाहरूले ग्रामीण आमाहरूको जीवन सुरक्षित बनाएको छ । ‘होम डेलिभरी’ शून्यतिर उन्मुख हुनु केवल तथ्य होइन, स्वास्थ्य सचेतना र संस्थागत सेवा विस्तारको उपलब्धि हो । यस परिवर्तनले न केवल मातृ मृत्युदर घटाउने सम्भावना बढाएको छ, बरु गाउँको सामाजिक चेतनामा पनि नयाँ अध्याय लेख्न थालेको छ ।

प्रतिक्रिया