शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटना : ३९ वर्षीय युवकको निधन

शुक्रवार , कार्तिक ७, २०८२

सिन्धुली,०७ कात्तिक – सिन्धुलीको बीपी राजमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका–७ तल्लो बराह नजिक शुक्रवार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकले ज्यान गुमाएका छन् । इम्बोस्ड नम्बर प्लेट भएको एएए–२०७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहान ५ः०५ दुर्घटना हुँदा धनुषाधाम नगरपालिका–९ बस्ने ३९ वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते अवस्थाका होइदेनलाई इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पतालमा पुर्‍याएको थियो । तर, उपचारका क्रममा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार मोटरसाइकल सिन्धुलीबाट काठमाडोंतर्फ जाँदै गर्दा एक्कासि अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । ठोक्किएर नियन्त्रण गुमाएपछि चालक करिब १५ फिट तल भिरमा खसेका थिए । दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले सो मार्गमा तीव्र वेग, मोड तथा भिरालो भूभागका कारण दुर्घटनाको जोखिम उच्च रहने बताएका छन् । यता, प्रहरीले चालकको परिवारलाई खबर गरिसकेको र कानूनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया