शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा जुवाको साम्राज्यः नेतानै बने सञ्चालक

सोमवार , कार्तिक ३, २०८२

सिन्धुली,०३ कात्तिक — सिन्धुली सदरमुकाममा फैलिएको जुवाको अखडा अहिले चर्चाको विषय बनेको छ । स्थानीय जनताले बारम्बार विरोध गर्दै आए पनि, जुवा नियन्त्रणको सट्टा त्यसले झन् जरा गाड्दै गएको देखिएको छ । स्थानीयहरूका अनुसार “यो समस्या केवल चाडबाडमा सीमित नभई पुरै वर्षभरि नै जुवा सञ्चालन हुँदै आएको छ । अझ गम्भीर कुरा त के छ भने, जुवा सञ्चालनमा राजनीतिक दलका युवा नेताहरू नै प्रत्यक्ष संलग्न भएको र होटल रिजर्भ गरेर जुवा सञ्चालन गराइरहेको ।”

स्थानीय स्रोतका अनुसार, एक प्रमुख दलका युवा नेताले आफैं जुवा सञ्चालनको व्यवस्थापन गरिरहेका छन्, जसमा हरेक रात लाखौँ रुपैयाँको कारोबार हुने गरेको जनाइएको छ । खेल्न आउनेहरूमा स्थानीय व्यापारी, प्रभावशाली व्यक्ति, र बाहिर जिल्लाबाट पनि आउने गरेका छन् ।

स्थानीय बासिन्दाहरू भन्छन् , “हामीले हरेक रातमा जुवा खेल्नेहरूको भीड देखिरहेका छौं । सामान्य नागरिक त पक्राउ पर्छन्, तर मुख्य जुवाडे र तिनलाई संरक्षण दिने राजनीतिक व्यक्ति भने सुरक्षित रहन्छन् ।” चाडबाडको बेला मात्र मनोरञ्जनका रूपमा जुवा खेल्ने सर्वसाधारणलाई प्रहरीले पक्राउ गर्ने गरेको भए पनि, सूचना चुहिने कारणले ठूला आयोजक र राजनीतिक पहुँच भएकाहरू पटक–पटक उम्किने गरेका आरोप लाग्दै आएको छ । एक स्थानीय व्यवसायीका अनुसार, “यो खेल अब परम्परा होइन, व्यवस्थित अपराध बनेको छ । होटल र पार्टी हलमा नेताको संरक्षणमा नियमित रूपमा जुवा खेलाइन्छ, अनि प्रशासन मौन बस्छ ।”

स्थानीय हरि कार्की भन्छन्, “१२ महिनै खुलेआम जुवाको अखडा चल्नु र राजनितिक दलका युवा नेताहरू को संलग्नता हुनु कानूनको खिल्ली उडाउनु हो । प्रहरी र स्थानीय प्रशासनले सानालाई मात्र होइन, ठूला राजनीतिक अनुहारहरूलाई समेत उस्तै कारबाही गर्नुपर्छ ।” प्रहरीका अनुसार पछिल्लो समय जुवातास नियन्त्रणका लागि विशेष अभियान चलाइएको छ । तर स्थानीयले भने यो अभियान प्रभावकारी हुन नसकेको र राजनीतिक दबाबका कारण ठूलो नेटवर्कसम्म हात नपुगेको आरोप लगाएका छन् ।

प्रहरी स्रोतका अनुसार पछिल्लो समय केही स्थानमा अनुगमन र छापा मार्ने कार्य भइरहेको छ । तर, स्थानीयको भनाइमा, राजनीतिक दबाबका कारण ठूला आयोजकहरूलाई पक्राउ गर्न अझै पनि कठिनाइ भइरहेको छ ।

स्थानीयको दबाबपछि केही होटलहरूमा प्रहरीले अनुगमन थालेको र केही स्थानमा अखडा नै बन्द गएिरको छ । स्थानीयवासीले स्थायी समाधानका लागि पारदर्शी छानबिन तथा संलग्न व्यक्ति चाहे जोसुकै किन नहोस्, कडा कारबाहीको माग गर्दै आएका छन् ।

अब प्रश्न उठिरहेको छ, राजनीतिक नेतृत्वको जिम्मेवारी जनताप्रति हो, कि अवैध धन्दाको संरक्षणमा ? नेता कि सञ्चालक ? जनताको विश्वास गुमाउँदै गरेका यस्ता गतिविधिको तत्काल छानबिन र कारबाही नभए, सिन्धुलीमा अपराध र भ्रष्टाचारको अर्को अध्याय सुरु हुन सक्ने खतरा देखिन्छ ।

 

प्रतिक्रिया