सिन्धुली, ०२ कात्तिक — सिन्धुली जिल्लाको मरिण गाउँपालिका–६, छाप बजारमा एक युवक आफ्नै घरको दोस्रो तलाबाट खस्दा गम्भीर घाइते भएका छन् । स्थानीय श्रीकृष्ण कार्कीका छोरा अन्दाजी १८/१९ वर्षका सन्देश कार्की आइतबार राति करिब १०ः०५ बजे घरको माथिल्लो तलाबाट खस्दा टाउकोमा चोट लागी गम्भीर घाइते भएका हुन् ।
परिवारका अनुसार सन्देश अचानक सन्तुलन गुमाएर करिब १५ फिट तल खसेका थिए । घटनापछि उनलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि चिकित्सकको सिफारिसमा उनलाई धुलिखेल अस्पताल पठाइएको छ । अस्पताल स्रोतका अनुसार सन्देशको अवस्था अहिले पनि चिन्ताजनक रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय मरिणबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनाको कारण र परिस्थिति बारे थप अनुसन्धान जारी छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुबेदीले बताएअनुसार “घरको वरिपरि र घटनास्थलको अवस्थाबारे प्रारम्भिक तथ्य संकलन भइसकेको छ र परिवारसँग पनि सोधपुछ गरिएको छ ।”