सिन्धुली,०२ असोज — घरेलु विवादका क्रममा सिन्धुलीमा एक महिलाले आफ्नै श्रीमानलाई ढुंगाले प्रहार गरी घाइते बनाएकी छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–६ पानीटंकीका ५५ वर्षीय बुद्धसिंह वाइबालाई उनकी श्रीमती ४८ वर्षीया राधिका वाइबाले शनिबार साँझ करिब ६ः३० बजे टाउकोमा ढुंगाले प्रहार गरेकी हुन् ।
घरेलु विषयमा भएको विवादले चर्किँदै जाँदा राधिकाले एक्कासी ढुंगाले प्रहार गरेकी प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घाइते वाइबालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पु¥याइएपछि प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित बाँसबारी न्युरो अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ । डाक्टरका अनुसार वाइबाको टाउकोमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले घटना लगत्तै आरोपी राधिकालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान भइरहेको र घटना घरेलु विवादकै कारण भएको अनुमान गरिएको छ ।
“घटनास्थलबाट प्रमाण संकलन भइरहेको छ र थप अनुसन्धान जारी छ,” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता सप्रहरी उपरिक्षक सुर्यप्रकाश सुबेदीले भने ।
स्थानीय बासिन्दाका अनुसार वाइबा दम्पतीबीच लामो समयदेखि पारिवारिक विवाद हुँदै आएको थियो।शनिवार साँझ दुवैबीच वादविवाद चर्किएपछि राधिकाले रागको आवेगमा आएर ढुंगाले प्रहार गरेको बताइएको छ ।
प्रहरीका अनुसार घरेलु हिंसासँग सम्बन्धित घटनाहरूमा चेतना अभाव र पारिवारिक मनमुटावका कारण यस्तो घटना बढ्दै गएको पाइन्छ । घरेलु विवाद समाधानका लागि समुदायमा सचेतना अभियान आवश्यक रहेको स्थानीय नागरिकले बताएका छन् ।