शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा जेनजी आन्दोलनको ताण्डवः १२ करोडको नोक्सानी

बुधवार , आश्विन २९, २०८२

सिन्धुली,२९ असोज – – गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिन्धुली जिल्लामा भएको तोडफोड र आगजनीबाट कुल १२ करोड ४६ लाख ८६ हजार ५ रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकन समिति’ले उक्त तथ्य सार्वजनिक गरेको हो ।

समितिका अनुसार, आन्दोलनको क्रममा सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, विभिन्न संघ–संगठन तथा दलका नेताहरुका निजी सम्पत्तिहरूमा ठुलो क्षति पुगेको छ ।

आन्दोलनका क्रममा सरकारी कार्यालयमा ठुलो क्षति पुगेको छ । जिल्ला अदालत सिन्धुलीमा मात्र १ करोड ६० लाख ८ हजार ३ सय ४४ रुपैयाँ बराबरको क्षति पुगेको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा १ करोड ७६ लाख ९२ हजार ४ सय ६८, जिल्ला समन्वय समितिमा ५८ लाख २० हजार ६ सय, मालपोत कार्यालयमा १४ लाख ६६ हजार ३ सय ९०, र कमलामाई नगरपालिकाको कार्यालयमा ४ करोड २९ लाख १५ हजार ५ सय १६ रुपैयाँ बराबरको क्षति भएको समितिले जनाएको छ ।

कमलामाई नगरपालिका वडा नं. ४ को कार्यालयमा ४ लाख ६३ हजार ८ सय, वडा नं. ५ मा ३४ लाख १८ हजार १ सय ५०, वडा नं. ६ मा ३ लाख ८० हजार ९ सय, कर कार्यालयमा १६ लाख १५ हजार १ सय ३७, र कारागार कार्यालयमा ४२ लाख ७४ हजार ४ सय रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख गरिएको छ ।

आन्दोलनका क्रममा जिल्लास्थित राजनीतिक दलका कार्यालयहरूमा पनि ठूलो क्षति पुगेको छ । समितिको विवरणअनुसार, दलहरूका कार्यालयमा कुल २ करोड ७२ लाख ४३ हजार ९ सय रुपैयाँ बराबरको क्षति भएको हो ।

त्यसमध्ये नेपाली काँग्रेसको कार्यालयमा ५४ लाख, नेकपा एमालेको कार्यालयमा १ करोड ७४ लाख ३५ हजार ९ सय, र नेकपा माओवादीको कार्यालयमा ३० लाख ८८ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरिएको छ ।

अन्दोलनकै क्रममा संघ–संगठन र बार एशोसिएसन पनि अछुतो रहेनन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनमा ७ लाख ७८ हजार ७ सय, र नेपाल बार एशोसिएशन सिन्धुली एकाइमा ५ लाख ४० हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको समितिले जनाएको छ ।

राजनीतिक नेताका निजी घरमा समेत तोडफोड भएका छन । जिल्ला स्तरका विभिन्न राजनीतिक दलका नेताहरूका निजी घरहरूमा पनि तोडफोड गरिएको थियो । समितिको प्रतिवेदनअनुसार, नेताहरुका घरमा ३३ लाख ८६ हजार ४ सय रुपैयाँ बराबरको क्षति पुगेको हो ।

काँग्रेसका नेता उपेन्द्र पोखरेलको घरमा ८ लाख, श्यामकुमार घिमिरेको घरमा ५ लाख ९४ हजार, क्षेत्र बम्जनको घरमा ३ लाख, एमालेका खड्गबहादुर खत्रीको घरमा १ लाख ६५ हजार, महेन्द्रदेव श्रेष्ठको घरमा १३ लाख ४१ हजार ४ सय, र माओवादी नेता लेखनाथ दाहाल ‘राजन’को घरमा १ लाख ८६ हजार रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ ।

समितिको प्रारम्भिक मूल्यांकनअनुसार, आन्दोलनका कारण सिन्धुली जिल्लामा प्रत्यक्ष र अप्रत्यक्ष गरी १२ करोड ४६ लाख ८६ हजार रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको देखिएको छ । समितिले यो विवरणलाई अन्तिम प्रतिवेदनको रूपमा जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेको बताइएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको क्षतिको यो विवरणले स्थानीय संरचना र सार्वजनिक सम्पत्तिप्रति नागरिक आन्दोलन कति हिंसात्मक बनेको थियो भन्ने देखाउँछ। अब राज्यले क्षति मूल्याङ्कनसँगै पीडित संस्था तथा व्यक्तिहरूको क्षतिपूर्ति प्रक्रिया र कानुनी कारबाहीको तयारी कस्तो गर्छ भन्ने नै मुख्य प्रश्न बनेको छ ।

प्रतिक्रिया