शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्गको स्थायी पुनर्निर्माण तिहारपछि मात्र, यात्रु अझै अस्थायी बाटोमै

बुधवार , आश्विन २९, २०८२

सिन्धुली,२९ असोज — गत वर्षको दशैंअघि आएको बाढीपहिरोले बीपी राजमार्गका करिब १२ किलोमिटर सडक बगाएको एक वर्ष बितिसक्दा पनि स्थायी निर्माण सुरु हुन सकेको छैन । बाढीले क्षति पु¥याएको क्षेत्र अहिले पनि अस्थायी मर्मतका भरमा चल्दै आएको छ । तिहारपछि मात्रै स्थायी पुनर्निर्माणको काम सुरु हुने भएको छ ।

असोज १० देखि १२ सम्म लगातार परेको वर्षासँगै आएको बाढीले राजमार्गको ठूलो भाग बगाएपछि देशको पूर्व–पश्चिम आवागमन प्रभावित भएको थियो । त्यो बेला घर फर्कन आतुर यात्रुहरू घण्टौं ट्राफिक जाम र वैकल्पिक बाटोको सास्ती सहँदै दशैंमा घर पुगेका थिए । असोज २४ गते फूलपातीको दिन अस्थायी पुल र खोलो तर्काएर सडक सञ्चालनमा ल्याइएको थियो ।

तर, गत असोज १८ देखि २० सम्म पुनः आएको बाढीले त्यही अस्थायी संरचना बगाएर करिब चार किलोमिटर सडक नामोनिशान मेटाइदिएको छ । असोज २५ गते शनिबारबाट मात्र खोलो तर्काएर आवागमन खुलेको छ, तर ठूला पानी परे फेरि सडक बन्द हुने जोखिम कायमै छ ।

भकुन्डेबेंसीदेखि नेपालथोकसम्मको ३०.५ किलोमिटर क्षेत्र दुई लेनमा विस्तार गर्ने योजना अन्तर्गत २५ किलोमिटर खण्डमा ठेक्का भइसकेको छ । बाँकी भागमा भने सम्झौता हुन बाँकी छ । भक्तपुर सडक डिभिजन प्रमुख सुमन योगेशका अनुसार केही ठेक्का क्षेत्रको काम तिहारपछि सुरु हुनेछ । “छठपछि बाढीले गरेको क्षति पुनरावलोकन गरी काम अघि बढाउँछौं,” उनले भने ।

भकुन्डेबेंसी–चारसयबेंसी (११ किमि) खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँमा लिएको छ । चारसयबेंसी–डालाबेंसी (९ किमि) खण्ड खानी–कमलजित–एवान जेभीले १ अर्ब २२ करोड रुपैयाँमा पाएको छ । दुबै ठेक्का असारमा सम्झौता भएका हुन् र दुई वर्षभित्र काम पूरा गर्ने लक्ष्य छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पिप्लेदेखि बर्खे खोलासम्म ३.२ किमि सडक बनाउने जिम्मा लिएको छ । यसका लागि अन्तिम सर्भे पूरा भइसकेको भए पनि ठेक्का सम्झौता दशैंपछि मात्र हुने बताइएको छ ।

जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा बन्ने यो खण्ड सन् २०२७ जुलाईसम्म सवारीसाधन चल्ने गरी तयार पारिने योजना छ ।

पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डमा भने ठेक्का प्रक्रिया विभागमा पुनः मूल्यांकन हुँदैछ । गत भदौमा विभागमा भएको आगलागीले सबै कागजात जलेपछि प्रक्रिया पुनः सुरु गर्नुपरेको भक्तपुर डिभिजनले जनाएको छ ।

बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि सिन्धुली खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले ५५ करोड रुपैयाँमा लिएको छ । यस क्षेत्रमा पनि छठपछि काम सुरु हुने तयारी छ ।

स्थायी पुनर्निर्माणका लागि भक्तपुर डिभिजनलाई ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएको छ ।

सडक विभागका महानिर्देशक विजय जैसी भन्छन्, “अब काम गर्ने समय हो, स्थायी निर्माण धमाधम अघि बढ्छ । अर्को बर्खामा समस्या हुन दिनेछैनौं ।”

बीपी राजमार्ग अहिले पनि खोलो तर्काएर मात्रै चलाइएको छ । अस्थायी मर्मतका भरमा चल्दा यात्रुहरू दैनिक जाम र जोखिमपूर्ण यात्रामा बाध्य छन् । चाडबाडका बेला यो राजमार्ग हुँदै दैनिक करिब १० हजार सवारी गुड्ने हुँदा अर्को बर्खा अघि स्थायी काम पूरा गर्न दबाब बढेको छ ।

प्रतिक्रिया