सिन्धुली, २९ असोज – मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोला नजिक मंगलवार दिउँसो अन्दाजी १ बजेतिर अटो र मोटरसाइकल ठोक्किँदा तीनजना घाइते भएका छन् ।
भिमानबाट कोरुङखोलातर्फ जादै गरेको कमलामाई–९ का ४५ वर्षीय धर्मराज थापाले चलाएको ज १ ह ४५०४ नम्बरको अटो घुमाउने क्रममा विपरीत दिशाबाट दुधौली बाट भिमानतर्फ गइरहेको दुधौली–९ निवासी २६ वर्षीय शुसिल कपडीले चलाएको स ३ प ६४०८ नम्बरको मोटरसाइकल एकअर्कामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक थापाको टाउकोमा चोट लागेको छ । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बर्दीबासस्थित शुभस्वस्तिक अस्पताल पठाइएको छ । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
मोटरसाइकल चालक कपडीको दायाँ हातमा र पछाडि सवार दुधौली–६ निवासी १४ वर्षीय आशिष कुमार दनुवारको घाटीमा चोट लागेको छ । दुवै जनाको उपचार भिमान पोलिक्लिनिकमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
दुर्घटनामा अटो र मोटरसाइकल दुवैको अगाडिको भाग क्षतिग्रस्त भएको छ । प्रहरी टोलीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार अटो घुमाउने क्रममा विपरीत दिशाबाट आएको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो ।