सिन्धुली,२६ असोज — गत साताको भीषण बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । अस्थायी ‘ट्र्याक’ खोलेसँगै शनिबार बिहानदेखि सवारी आवागमन सुरु भएको र अहिले राजमार्गका विभिन्न ठाउँमा मर्मत तथा डाइभर्सन निर्माण कार्य तीव्रगतिमा चलिरहेको छ ।
बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने डिभिजन सडक कार्यालय भक्तपुरकाख, कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताउनुभयो ।
सिनियर डिभिजनल इञ्जिनियर योगेशका अनुसार तीनवटा मेसिनले निरन्तर मर्मत कार्य गरिरहेका छन् भने अन्य मेसिनहरू विभिन्न ‘स्ट्याण्डबाई स्टेशन’मा तयारी अवस्थामा राखिएका छन् । “बाढीले कटान र बगर बनेका ठाउँहरूमा पाँच दिन लगातार काम गरेर सवारी सञ्चालन हुने गरी सडक तयार पारिएको छ,” उहाँले भन्नुभयो ।
कार्यालयका अनुसार राजमार्गका १९ स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको छ । शुक्रबार साँझसम्ममा नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्ती क्षेत्रसम्म ट्र्याक खोलिएको र त्यसको सफल परीक्षणपछि शनिबारदेखि राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको हो ।
योगेशका अनुसार चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँसी, पिप्लेको चार ठाउँ र माम्तीका दुई ठाउँमा डाइभर्सन निर्माण सम्पन्न भएको छ ।
“हामीले रातदिन नभनी काम गरिरहेका छौं। तिहारसम्म यात्रुहरूको यात्रा सहज बनाउने हाम्रो प्राथमिकता हो,” योगेशले बताउनुभयो । उहाँले राजमार्गको साँघुरो र अस्थायी खण्डहरूमा चालक तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह पनि गर्नुभयो ।
डिभिजन सडक कार्यालयले बाढीले क्षति पु¥याएका स्थानहरूको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
सिन्धुली खण्डमा तीन र काभ्रेपलाञ्चोक खण्डमा १६ स्थानमा डाइभर्सन निर्माण गरिएको छ । रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेपछि यो क्षेत्र पुनः सञ्चालनमा ल्याउन रातदिन मेसिन चलाइएका थिए ।
पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मुख्य राजमार्गका रूपमा चिनिने बिपी राजमार्गमा दैनिक हजारौं सवारीसाधन चल्ने गर्छन् । एक साता अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएसँगै राजमार्गमा यात्रु तथा सवारीको चहलपहल बढेको छ ।
सडक कार्यालयका इञ्जिनियरहरूले भनेका छन्, “डाइभर्सन अस्थायी समाधान हो, स्थायी पुनर्निर्माणपछि मात्र बिपी राजमार्ग आफ्नो मूल स्वरूपमा फर्किनेछ ।”