सिन्धुली,२६ असोज - सिन्धुलीको दुधौली नगरपालिका–२ रतनपुरस्थित मदन भण्डारी राजमार्गमा आइतबार बिहान सवारी दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्। बिहान करिब ७ः३० बजेको समयमा भिमानबाट डकाहा तर्फ जाँदै गरेको बा ४५ प ३८०४ नम्बरको मोटरसाइकलले सडक किनारमा हिँडिरहेकी एक पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिन्धुली कमलामाई नगरपालिका–१४ चन्दनपुरकी ५० वर्षीया खप्टर्नी अधिकारी गम्भीर घाइते भएकी छन्। उनी हाल दुधौली नगरपालिका–२ रतनपुरस्थित आफ्नै माईती घरमा बसोबास गर्दै आएकी थिइन्। ठक्करबाट उनको टाउको र देब्रे खुट्टामा गम्भीर चोट लागेको बताइएको छ।
त्यस्तै, सो मोटरसाइकलका चालक महोत्तरी बर्दिबास नगरपालिका–३ गौरीडाँडाका २५ वर्षीय निर्जल पौडेल पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनापछि दुबैजनालाई उपचारका लागि बर्दिबासतर्फ पठाइएको छ।
सिन्धुली प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलको गति तीव्र रहेको र सडकको छेउमा पैदल यात्रु हिँडिरहेकै समयमा ठक्कर लागेको अनुमान गरिएको छ।
स्थानीयवासीले घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरी अस्पताल पठाएका थिए। अहिले दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ।