शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बिपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन

शनिवार , आश्विन २५, २०८२

सिन्धुली,२५ असोज – गत साताको अविरल वर्षाले बाढीपहिरोका कारण ठप्प बनेको बिपी राजमार्ग फेरि चलायमान बनेको छ । अस्थायी सडक निर्माण र १९ स्थानमा डाइभर्सन तयार भएपछि शनिबार बिहानदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार शुक्रबार साँझसम्म सबै क्षतिग्रस्त खण्डमा ट्रयाक खोली परीक्षण गरिएको र आज बिहानदेखि सम्पूर्ण सवारी सञ्चालन सुरु गरिएको हो । राति अबेरसम्म मेशिन प्रयोग गरी काम जारी राख्दा शनिबार बिहानैदेखि सवारी साधन सुचारु गर्न सम्भव भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्ती खण्डसम्मका १६ स्थान र सिन्धुली खण्डका तीन स्थानमा अस्थायी डाइभर्सन तयार गरिएको छ ।

चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्ले र माम्ती क्षेत्रमा ठूलो क्षति पुगेको थियो। ती सबै ठाउँमा अस्थायी सडक (डाइभर्सन) निर्माण गरी शनिबार बिहान परीक्षणपछि राजमार्ग खुलाइएको इञ्जिनियर योगेशले बताउनुभयो ।

रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक बगाएको थियो । मंगलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण सुरु गरिएको थियो भने बिहीबारदेखि रातदिन दुई दर्जन मेसिन परिचालन गरी सडक पुनः सञ्चालन योग्य बनाइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त खण्डको स्थलगत निरीक्षण गर्दै छिटोभन्दा छिटो राजमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो । उहाँको निर्देशनपछि बिहीबार रातिदेखि शुक्रबार रातिसम्म निरन्तर काम गरेर शनिबार बिहान पूर्ण रूपमा यातायात सञ्चालनमा ल्याइएको हो ।

घिसिङले “राति काम गरेर भए पनि शुक्रबारसम्म यातायात चल्ने गरी राजमार्ग खोल्नुपर्छ ” भनेर निर्देशन दिनुभएको थियो । त्यसपछि सडक विभागका टोलीहरू, स्थानीय सरकार र प्रहरी प्रशासनले समन्वय गरी सडक मर्मतमा जुटेका थिए ।

पूर्वी नेपाललाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने यो राजमार्गमा दैनिक हजारौँ सवारीसाधन चल्ने गर्छन् । सडक अवरुद्ध हुँदा काभ्रे, सिन्धुली, रामेछाप, ओखलढुंगा, खोटाङ र उदयपुरका यात्रुहरू दिनौँसम्म अलपत्र परेका थिए ।

डिभिजन सडक कार्यालयले अब स्थायी मर्मत र पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रियामा अघि बढाइरहेको जानकारी दिएको छ ।

बाढीपहिरोले बारम्बार प्रभावित हुने बिपी राजमार्गलाई दिगो संरचना र प्रभावकारी निकास व्यवस्थापनमार्फत स्थायी रूपमा सुरक्षित बनाउनु अब सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । राजमार्ग खुल्दा पूर्व–पश्चिम आवागमन सहज बनेको छ र स्थानीय अर्थतन्त्रमा पुनः चहलपहल देखिन थालेको छ ।

प्रतिक्रिया