शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बाढीपछिको राहतः बिपी राजमार्ग आजदेखि खुल्दै

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं,२४ असोज – असोज १८ र १९ गतेको अविरल वर्षाले बाढीपहिरोको कारण क्षतिग्रस्त बनेको बिपी राजमार्ग असोज आज शुक्रबार देखि पुनः सञ्चालनमा आउने भएको छ । संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो तथा महत्वपूर्ण यो राजमार्गमा डाइभर्सन निर्माणको अन्तिम चरण पूरा हुँदै गएपछि शुक्रबारदेखि सवारी आवागमन सुचारु हुने तयारी गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

सडक डिभिजन भक्तपुरका प्रमुख इन्जिनियर सुमन योगेशले भन्नुभयो, “डाइभर्सन निर्माण अन्तिम चरणमा पुगेको छ, शुक्रबारदेखि राजमार्ग सञ्चालनमा आउनेछ ।”

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित चौकीडाँडादेखि नेपालथोकसम्मका क्षतिग्रस्त भागमा नयाँ डाइभर्सन तयार पारिएको छ। यसपछि काठमाडौं–धरान–पूर्वी नेपालबीचको आवागमन पुनः सहज हुने अपेक्षा गरिएको छ ।

गत वर्ष असोजको बाढीपहिरोले पनि सो राजमार्गलाई गम्भीर रूपमा क्षतिग्रस्त बनाएको थियो । त्यसपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्ष पुनः बाढीले बगाएको हो । चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेँसी र घुमाउनेलगायत स्थानहरू अझै जोखिमपूर्ण अवस्थामा रहेका छन् ।

सडक विभागका तथ्याङ्कअनुसार, यस वर्ष असोज १८ र १९ गतेको वर्षाले १६ स्थानमा तीन हजार ४१० मिटर डाइभर्सन बगाएको थियो । गत वर्ष असोज १२ को बाढीमा ५३०० मिटरको डाइभर्सन बगाएको थियो ।

यो राजमार्गमा सामान्य समयमा दैनिक आठदेखि १० हजार र चाडपर्वको समयमा १५ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गर्छ । राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता बनेको थियो, जसले दूरी झन्डै दोब्बर बनाएको थियो ।

२०७२ सालको भूकम्पले पनि यो राजमार्गका केही भाग क्षतिग्रस्त पारेको थियो, जसपश्चात जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहकार्यमा पुनर्निर्माण गरिएको थियो ।

इन्जिनियर योगेशका अनुसार बाढीपहिरोका साथै मापदण्डभन्दा बढी भार भएका टिप्पर र अन्य सवारीसाधनले पनि राजमार्गलाई क्षतिग्रस्त बनाएका छन् । जाइकाले बिपी राजमार्गमा १६ टनभन्दा बढी भारका सवारीसाधन सञ्चालनमा रोक लगाएको भए पनि २५ टनसम्म गिटी–बालुवा बोकेका टिप्पर चलाइँदै आएका छन् । यसले सडकको संरचना कमजोर पार्दै आएको र दीर्घकालीन क्षति पुर्‍याएको शुमनको भनाइ छ ।

प्रतिक्रिया