शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

जेन्जी आन्दोलनपछि सिन्धुली तात्यो : बालेन र सुदनविरुद्ध जाहेरी

बिहिवार , आश्विन २३, २०८२

सिन्धुली,२३ असोज — जेन्जी आन्दोलनको नाममा जिल्लाभरी भएका तोडफोड, आगजनी र लुटपाटका घटनाबारे नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सिन्धुलीले जिल्ला प्रहरी कार्यालयमा सिन्धुलीमा जाहेरी दर्ता गराएको छ । जाहेरीमा सार्वजनिक र निजी सम्पत्ति नष्ट भएको, सरकारी कार्यालयका कागजात र भवनहरू जलाइएको र निर्दोष विद्यार्थी तथा सर्वसाधारणको ज्यान जाने गरी हिंसा भड्काइएको आरोप लगाइएको छ ।

जाहेरीकर्ता सिन्धुलीको कमलामाई नगरपालिका–११ का बस्ने अनेरास्ववियु सिन्धुलीका जिल्ला संयोजक २८ वर्षीय अजय दोङ तामाङले पेश गरेको जाहेरीमा भनिएको छ, “हामी विद्यार्थी संगठनले कहिल्यै पूर्वाग्रहका आधारमा काम गरेको छैनौँ, तर केही समूहहरूले आन्दोलनको नाममा कानुन विपरीतका कार्य गरी निर्दोष जनतालाई पीडित बनाएका छन् ।”

जाहेरीमा मुख्य रूपमा काठमाडौं महानगरका मेयर वालेन्द्र शाह (वालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङ लगायत दर्जनौँ अन्य व्यक्तिहरूको नाम उल्लेख गर्दै उनीहरूको नेतृत्वमा आपराधिक उपद्रव भएको दाबी गरिएको छ । तामाङले उक्त समूहले भाद्र २३ र २४ गते “जेन्जी आन्दोलन” को आवरणमा सरकारी तथा निजी सम्पत्तिमा क्षति पु¥याउने गरी भीड परिचालन गरेको आरोप लगाउनुभएको छ ।

जाहेरीमा मुलुकी फौजदारी संहिता, २०७४ का दफा १७७, १७८, २४४ र २८५(२)(क) अनुसार आपराधिक उपद्रव, लुटपाट र हत्या जस्ता गम्भीर अपराधको छानबिन गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको छ । “सरकारी सम्पत्तिको नोक्सानी र सर्वसाधारणको ज्यान जाने घटनामा संलग्न जोकोहीलाई कानुन अनुसार दण्डित गर्नुपछ,।”जाहेरीमा उल्लेखक गरिएको छ ।

जाहेरीसँगै उहाँले उपलब्ध भिडियो र फोटो प्रमाण प्रहरीसमक्ष पेश गर्नुभएको छ । ती प्रमाणहरूमा आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका दृश्यहरू रहेको उहाँले उल्लेख गर्नुभएको छ । जाहेरीमा भनिएको छ, “देशका प्रशासनिक कार्यालयहरू, मालपोत, जिल्ला प्रशासन, प्रहरी कार्यालय र अदालतका भवनहरूमा भएको आगजनी र लुटपाटका दृश्यहरू प्रमाणका रूपमा प्रस्तुत गरेका छौँ ।”

स्थानीय बासिन्दाहरूले आन्दोलनको क्रममा उत्पन्न हिंसाले सामाजिक सद्भावमा असर परेको र विद्यार्थी समुदाय भयभीत बनेको बताएका छन्। तामाङले आफ्ना समर्थक र नागरिकहरूलाई अफवाहमा नलाग्न, कानुनी निकायको छानबिन पर्खन र न्यायप्रति विश्वास राख्न आग्रह गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जाहेरी प्राप्त भएको पुष्टि गरे पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन । एक प्रहरी स्रोतले भन्यो, “जाहेरी दर्ता भएको छ, आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।” जाहेरीकर्ताले भने अनुसन्धानका क्रममा पूर्ण सहयोग गर्ने र अदालतमा उपस्थित हुन तयार रहेको स्पष्ट पारेका छन् ।

 

प्रतिक्रिया