सिन्धुली,२३ असोज – असोज १८ र १९ गतेको बाढी र पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग खुलाउन सरकारले डाइभर्सन निर्माण कार्य तीव्र रूपमा अघि बढाएको छ । सडक डिभिजन भक्तपुरले अवरुद्ध सडकलाई तीन छुट्टाछुट्टै खण्डमा विभाजन गरी सवारी सञ्चालन सहज बनाउन धमाधम डाइभर्सन निर्माण गरिरहेको जनाएको छ ।
सडक डिभिजनका अनुसार, सेक्टर ‘ए’ दाप्चापुलदेखि चारसयबेंसी, सेक्टर ‘बी’ गाम्दीबेंसीदेखि डल्लाबेसी, र सेक्टर ‘सी’ सुख्खा पहिरोदेखि मम्पी गरी तीन खण्डमा एकैसाथ निर्माण कार्य जारी छ । पहिलो र दोस्रो खण्डमा डाइभर्सन निर्माण सम्पन्न भइसकेको र तेस्रो खण्डमा शुक्रबारसम्ममा काम सक्ने लक्ष्य राखिएको डिभिजनले जनाएको छ ।
रोशी खोलामा पानीको बहाव अझै घट्न नसक्दा तेस्रो खण्डमा निर्धारित समयमा काम पूरा गर्न केही चुनौती आइरहेको निर्माण टोलीले बताएका छन् । तथापि, जेसीबी र टिफरजस्ता भारी उपकरणको प्रयोग गरेर अवरुद्ध सडक खुलाउने प्रयास दिनरात चलिरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बुधबार अवरुद्ध क्षेत्रको स्थल निरीक्षण गर्दै निर्माण कार्यलाई थप गति दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले राजमार्ग देशको महत्वपूर्ण जीवनरेखा भएको भन्दै “सरकारले यथाशीघ्र सडक सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको“ बताउनुभएको छ ।
स्थानीय बासिन्दाले पनि डाइभर्सन निर्माणले सडक खुल्ने आशा पलाएको प्रतिक्रिया दिएका छन् । बाढी र पहिरोका कारण लामो समयदेखि यातायात पूर्णरूपमा ठप्प हुँदा दैनिक जीवन र आपूर्तिमा ठूलो असर परेको थियो। अब भने सडक पुनः सञ्चालनमा आएपछि सिन्धुली, खानीखोला, र रोशी क्षेत्रका बासिन्दा राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।
सडक डिभिजनका इन्जिनियरका अनुसार, काम सकिएलगत्तै अस्थायी रूपमा साना र मध्यम सवारी सञ्चालन गरिनेछ। स्थायी पुनर्निर्माणका लागि भने विस्तृत योजना तयार पार्ने तयारी भइरहेको बताइएको छ ।
बाढी–पहिरोपछि विपद्ग्रस्त बिपी राजमार्गमा पुनः चहलपहल ल्याउन सरकारले गरेको प्रयासले स्थानीयमा आशा जगाएको छ ।