सिन्धुली,२३ असोज – सिन्धुलीको दुधौली नगरपालिका–१० कर्था का ५१ वर्षीय लिलबहादुर सार्कीको पानीमा डुबेर मृत्यु भएको छ । गाईगोरु चराउन निस्किएका उहाँ घर नफर्केपछि खोजी गर्दा पानीमा तैरिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार, बुधवार बिहान करिब १०ः०० बजे लिलबहादुर गाईगोरु चराउनका लागि घरबाट निस्किनुभएको थियो । साँझसम्म पनि नफर्किएपछि परिवारजनले खोजी कार्य थालेका थिए । आज बिहिवार बिहान करिब ८ः०० बजे, घरबाट करिब ७०० मिटर पश्चिमतर्फ रहेको कमलाखोलाको दहमा घोप्टो परेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ बिहान ८ः१५ बजे प्रहरी चौकी दुधौलीबाट प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीको नेतृत्वमा टोली खटिएको थियो । टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान गरेको बताइएको छ ।
प्रहरीका अनुसार, मुचुल्का प्रक्रिया सम्पन्न गरी मृतकको शवलाई पोष्टमार्टमका लागि सिर्थौली अस्पताल पठाइएको छ । प्रारम्भिक अनुमान अनुसार, गाईगोरु चराउने क्रममा चिप्लिएर वा पौडी खेल्दा डुबेका हुन सक्ने भनिए पनि घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ ।
स्थानीयवासीहरूले भने, कमलाखोला क्षेत्रमा वर्षेनी यस्ता घटना दोहोरिने गरेको बताउँदै, जोखिमयुक्त स्थानमा चेतावनी बोर्ड राख्न र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।