शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्ग सिन्धुलीतर्फको ट्र्याक खुल्यो, यातायात सञ्चालनमा

बिहिवार , आश्विन २३, २०८२

सिन्धुली,२३ असोज — अविरल वर्षा र बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलिखेल खण्डको सिन्धुलीतर्फको ६०० मिटर ट्र्याक खोलिएको छ । ट्र्याक सञ्चालनमा आएसँगै नेपालथोकदेखि बालुवासम्म यातायात पुनः सञ्चालनमा आएको छ ।

डिभिजन सडक कार्यालय खाल्टेका अनुसार रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरेर चार दिनअघि नै ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । एक्स्काभेटर प्रयोग गरी खोलाकै ढुंगा, गिटी र बालुवा प्रयोग गरेर अस्थायी ट्र्याक तयार गरिएको हो ।

डिभिजन सडक कार्यालयका प्रमुख पारसमणि हमालका अनुसार, “यो ट्र्याक खुलेसँगै सिन्धुलीतर्फबाट काभ्रेको माम्ती हुँदै यातायात सञ्चालन सम्भव भएको छ ।”

काभ्रेको चौकीडाँडाबाट पनि अस्थायी सडक निर्माण सुरु भएको छ । प्राविधिकहरूका अनुसार, काभ्रेतर्फको ट्र्याक शनिबार दिउँसोसम्म खुल्ने सम्भावना छ । त्यसपछि बीपी राजमार्ग हुँदै काठमाडौं–तराई आवागमन पूर्णरूपमा सुचारु हुने अपेक्षा गरिएको छ ।

हाल बीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडक करिब ११० किलोमिटरमा सञ्चालनमा छ भने बाँकी ५० किलोमिटरमा पुनर्निर्माण कार्य जारी छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले काभ्रेतर्फ निर्माण भइरहेको ट्र्याकको निरीक्षण गरी कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया