सिन्धुली २३ असोज – गत असोज १८ र १९ गतेको अविरल वर्षाले रोशी खोलामा आएको बाढीले क्षति पु¥याएको बीपी राजमार्गका केही भागहरूमा अस्थायी डाइभर्सन निर्माण गरी सवारी सञ्चालन सहज बनाउन थालिएको छ ।
काभ्रे खण्डको रोशी गाउँपालिका–७ घुमाउनेमा डाइभर्सन तयार भइसकेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । सो स्थानमा बाटो खुल्नासाथ कटुञ्जे डाँडादेखि चारसयबेसीसम्म दुईतर्फी सवारीसाधन आवागमन सुरु भएको हो । तर, चौकीडाँडामा भने अझै डाइभर्सन निर्माण कार्य जारी रहेकाले त्यो खण्डमा गाडी जान सकेका छैनन् ।
सडक डिभिजनका सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार काभ्रे खण्डका चौकीडाँडा, चारसयबेसी, पिन्थली र भ्याकुरेखोला क्षेत्रमा समेत डाइभर्सन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । उहाँका अनुसार १२ वटा स्काभेटर, ४ वटा ह्वील लोडर र ८ वटा टिपर परिचालन गरी माटो र गिट्टी पुरी सवारी चल्ने अवस्था बनाउने काम भइरहेको छ ।
रोशी खोलाले यसअघि १६ स्थानमा डाइभर्सन बगाएको थियो । जसमा चौकीडाँडा, कटुञ्जेको घुमाउने, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी, पिप्ले र माम्ती क्षेत्र पनि परेका छन् ।
काभ्रेको दाप्चाखोलादेखि बर्खेखोलासम्म १६ र सिन्धुली खण्डमा बर्खेखोलादेखि नेपालथोकसम्म तीन स्थान गरी कुल १९ स्थानमा क्षति पुगेको बताइन्छ ।
बीपी राजमार्गको सिन्धुली खण्डमा समेत काम अघि बढेको छ । सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीका अनुसार नेपालथोक र बालुवा क्षेत्रमा डाइभर्सन निर्माण अन्तिम चरणमा पुगेको छ ।
बालुवा माथिल्लो क्षेत्रमा रोशी खोलाले नयाँ कटान गरेकाले खोला फर्काएर डाइभर्सन बनाउने कार्य भइरहेको र साँझसम्म सिन्धुली खण्ड पूर्ण रूपमा जोडिने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
यसबीच, ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकास मन्त्री कुलमान घिसिङले चौकीडाँडा–नेपालथोक खण्डको डाइभर्सन निर्माण कार्यको अनुगमन गर्ने तयारी गर्नुभएको छ ।
रोशी बाढीपछि पत्रकार सम्मेलनमार्फत उनले ३–४ दिनभित्र राजमार्ग सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाउनुभएको थियो । तर, उक्त समयसीमा गुज्रिएपछि उनी स्वयम् स्थलमै पुगेर प्रगति हेर्ने लाग्नुभएको हो ।
स्थानीयवासीका अनुसार राजमार्ग खुल्ने अपेक्षामा बर्खाको असुविधा सहेका यात्रुहरूले अहिले राहत महसुस गर्न थालेका छन् । सडक खुल्ने अपेक्षासँगै दशैंका यात्रुहरूलाई पनि सहज यात्रा हुने आशा पलाएको छ ।