सिन्धुली,२२ असोज – मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको भिमानबाट हेटौँडा जादै गरेको विद्युतीय गाडी (इभी) र मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका १६ जनामध्ये १२ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने चार जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
मंगलबार बिहान बागमती–४, झुरझुरेमा भएको दुर्घटनापछि गम्भीर घाइते तीन जनालाई नेपाल आर्मीको हेलिकोप्टरमार्फत् तत्काल काठमाडौं लगिएको प्रहरीले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–६ का २६ वर्षीय निकेश पौडेल, ५० वर्षीय मीरा पौडेल र २८ वर्षीय मिकेशा पौडेललाई बिएण्डबी अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार उहाँहरूको निधार र शरीरका विभिन्न भागमा चोट लागेको थियो । घाइतेमध्ये १२ जनाको सहकारी अस्पताल हेटौँडा, हेटौँडा अस्पताल र मेडिकल झुरझुरेमा उपचारपछि डिस्चार्ज गरिएको हो ।
बोगटीका अनुसार दुर्घटनामा ६ महिला, ८ पुरुष र दुई बालिका घाइते भएका थिए । तीमध्ये १२ जना सामान्य, तीन जना मध्यम, र एक जना गम्भीर घाइते थिए ।
दुर्घटनामा संलग्न म.प्र.०२–००१ ज ००७२ नम्बरको इभी गाडी सिन्धुलीबाट हेटौँडातर्फ गइरहेको थियो । बागमती–४ झुरझुरेमा भित्री बाटोबाट हाइवेमा निस्कँदै गरेको ना.५ प.५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भई १५ फिट खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
गाडी चालक सिन्धुलीको कमलामाई नगरपालिका–९ बस्ने ३९ वर्षीय केदार ढुंगेल ( लाई उपचारपछि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा स्थानीय बासिन्दाले घाइतेको उद्धारमा सहयोग गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।