सिन्धुली,२२ असोज – सिन्धुली र काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहका बासिन्दा अहिले जीवन र मृत्युलाई सँगै बोकेर बाटो हिँड्न बाध्य छन । माथिबाट पहिरो खस्ने डर, तल रोशी खोलाको उर्लंदो भेल । बिपी राजमार्गका केही खण्ड रोशीले बगाएपछि काभ्रेपलाञ्चोकको चौकीडाँडासम्म मात्र सवारीसाधन चलिरहेका छन्, त्यसपछि भने मानिसहरू हातगोडा टेकेर, भित्तो समात्दै, जोखिमपूर्ण बाटोमा पैदल यात्रा गर्न बाध्य भएका छन् ।
सिन्धुलीका सुनकोशी र घ्याङलेक गाउँपालिका र काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल, महाभारत, खानीखोला गाउँपालिका र नागरिक अहिले सडक सम्पर्कविहीन छन् । चौकीडाँडासम्म सार्वजनिक यातायात चले पनि त्यसपछि भिरालो बाटो समातेर हिँड्नुपर्ने बाध्यता छ ।
पैदलै हिँडेर जान पनि ठाउँठाउँमा रोशी तर्नुपर्ने बाध्यता रहेको पैदल हिँडेका भीष्म तामाङले उल्लेख गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक र बालबालिकालाई जोखिम धेरै भएको उल्लेख गर्नुभयो । मुख्य राजमार्ग बगाए पनि भिरको बाटो हिँडेर चौकीडाँडासम्म पुग्ने लक्ष्य बोकेर हिँड्ने बाध्यता रहेको शान्ता मैनालीले बताउनुभयो । उहाँले बाटो निक्कै कष्टकर र जोखिमपूर्ण रहेको बताउनुभयो ।
सडक अवरुद्ध भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले यात्रुलाई हातेमालो गरेर सहयोग गरिरहेका छन् । माताको पिठ्युँमा दुधे बालक, बुबाको काँधमा झोला, बुढाबुढीका हातमा लठ्ठी—यी दृश्य अहिले चौकीडाँडा आसपासका भिरालो बाटोमा सर्वसाधारणका जीवनयात्रा बनेका छन् ।
दसैँका टीका लगाएर सहर फर्कनेहरू पनि यही बाटो समातिरहेका छन् । धेरैले आफ्ना सवारीसाधन सुरक्षित स्थानमा राखेर हिँडेरै यात्रा गरिरहेका छन् ।
प्रहरी चौकी कटुन्जेका इन्चार्ज राजेन्द्र ढंगङ्गेलका अनुसार, तीन दिनयता करिब १,५०० जना भन्दा बढीले पैदल यात्रा गरेर चौकीडाँडा पुगेका छन्। उनीहरू रोशी गाउँपालिकाको मङ्गलटार, कालढुंगा र नार्के हुँदै लामो दुरी तय गरेर आएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी काभ्रेपलाञ्चोकका प्रमुख सुनील धाँजूका अनुसार, चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर भाग पूर्ण रूपमा बन्द छ ।
सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालअन्तर्गतको मनसुन उद्धार बेसका प्रमुख निरीक्षक आलोक बस्नेतले भन्नुभयो, “ज्येष्ठ नागरिक, बालबालिका र बिरामीलाई प्राथमिकतामा राखेर उद्धार भइरहेको छ। सोमबार मात्र बिरामीलाई स्ट्रेचरमा राखेर चौकीडाँडासम्म ल्याइयो ।”
निरीक्षक बस्नेतका अनुसार, रोशीको बहाव क्रमशः घट्दै गएको छ, जसका कारण राजमार्गको ट्र्याक खोल्ने काम सुरु गरिएको छ। यद्यपि, मौसम फेरि बिग्रिए स्थानीय पुनः जोखिममा पर्ने सम्भावना रहन्छ ।
स्थानीय जनप्रतिनिधिहरूले समेत तत्काल वैकल्पिक बाटो निर्माण र आपतकालीन उद्धार केन्द्र स्थापनाको माग गरेका छन् ।
पहिरो र भेलबीचको यो जीवन–संघर्ष केवल सडक अवरोधको कथा होइन, राज्यका पूर्व–पर्वतीय बस्तीहरूको संरचनागत कमजोरीको चित्र पनि हो। यतिबेला काभ्रे र आसपासका स्थानीयहरूका लागि प्रत्येक पाइला “माथि पहिरोको डर, तल भेलको खतरा” बनेको छ।