सिन्धुली,२१ असोज — संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग सिधा र छोटो दूरीमा जोड्ने देशकै अत्यन्त महत्वपूर्ण मार्ग बिपी राजमार्ग फेरि थिलथिलो बनेको छ । गत वर्षको बाढीपहिरोबाट क्षतविक्षत सडक अस्थायी रूपमा सञ्चालनमा आएको केहि महिनामै, यही असोज १८ र १९ गतेको भीषण वर्षाले पुनः त्यही अवस्था दोहोर्याएको हो ।
काभ्रेपलाञ्चोकतर्फको रोशी खोलामा आएको बाढीले राजमार्गका करिब चार किलोमिटर सडक बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । बाढीले गत वर्ष निर्माण गरिएको अस्थायी डाइभर्सन पनि पूर्ण रूपमा कटान गरेको छ, जसका कारण अहिले सडक सम्पर्क विच्छेद भएको छ ।
२०७२ को भूकम्पले केही खण्ड क्षतिग्रस्त बनाएपछि राजमार्ग जोखिमपूर्ण बनेको थियो । त्यसपछि पनि हरेक वर्ष असोज महिनामा बाढी–पहिरोले सडक बगाउने क्रम रोकिएको छैन । गत वर्ष असोजमा ३० किलोमिटर सडकमा बाढीपहिरोले ठूलो क्षति पु¥याएको थियो । त्यसपछि अस्थायी ट्रयाक बनाएर सञ्चालनमा ल्याइएको थियो, तर यस वर्ष फेरि डाइभर्सनसहितको सडक बगाएर शून्यबाट पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको छ ।
भक्तपुर डिभिजन सडक कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, अहिले अस्थायी सडक बनाएर आवागमन सञ्चालन गर्ने तयारी भइरहेको छ । स्थायी पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेजमा ठेक्का सम्झौता गरिएको छ ।
पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्म २८ किलोमिटर सडक दुई लेनको कालोपत्रे बनाइने योजना छ । जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३.२ किलोमिटर सडक निर्माण गर्ने तयारी गरेको छ । फाइनल सर्वे सकिएको र ठेक्का सम्झौतामा पुग्ने चरणमा रहेको अधिकारीहरूले बताएका छन् ।
इन्जिनियरहरूले प्राकृतिक कारणभन्दा पनि मानव निर्मित समस्या ठूलो रहेको बताउँछन् । बिपी राजमार्गमा १६ टन भन्दा माथिका सवारी साधन रोक लगाउने जाइकाको सिफारिस हुँदाहुँदै पनि २५ टनसम्मका टिपर निर्वाध रूपमा सञ्चालनमा छन् ।
करिब ६०० भन्दा बढी टिपर दैनिक क्षमताभन्दा बढी गिटी–बालुवा बोकेर गुड्ने गरेका छन्, जसले सडक संरचना भत्काउने मुख्य कारण बनेको कार्यालय स्रोतको भनाइ छ ।
हाल करिब ११० किलोमिटर सडक सञ्चालनमा रहेको छ भने बाँकी ५० किलोमिटर सडक पुनर्निर्माणको चरणमा छ । रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरी नयाँ ट्रयाक खोल्ने कार्य भइरहेको छ । चौकीडाँडा, माम्ती, चार सय बेँसी, बोक्सेकुना, र घुमाउनेलगायतका स्थानमा सडक अत्यन्त जोखिममा रहेको डिभिजन कार्यालयले जनाएको छ ।
दैनिक झण्डै तीन हजार सवारी साधन चल्ने यस मार्गमा चाडपर्वमा सवारी संख्या तेब्बर हुने गर्छ । गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाइएको थियो, तर असोज १ गतेदेखि पुनः २४ घण्टा सञ्चालन गरिएको थियो । तर असोज १८ र १९ गतेको बाढीपहिरोले फेरि सम्पर्क विच्छेद गरिदिँदा, पूर्व र राजधानीबीचको मुख्य शिरा पुनः ठप्प भएको छ ।
सरकारले स्थायी पुनर्निर्माणका लागि भक्तपुर सडक डिभिजनलाई सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट खण्डका लागि एक अर्ब रुपैयाँ उपलब्ध गराएको छ । तर विशेषज्ञहरूका अनुसार, यदि लोड नियन्त्रण, नदीनालाको व्यवस्थापन र दुई लेन मापदण्डको स्थायी संरचना तुरुन्त लागू नगरे, राजमार्ग हरेक वर्षको बाढीमा भत्किने चक्र रोकिँदैन ।
देशको विकासको मेरुदण्डका रूपमा रहेको बिपी राजमार्ग बारम्बारको बाढी र अत्यधिक भारका कारण अस्तव्यस्त बन्दै गएको छ। अस्थायी मर्मतले समस्या टारिए पनि, दीर्घकालीन संरचनागत सुधार बिना यो मार्ग हरेक वर्ष “थिलथिलो“ हुने निश्चित देखिन्छ ।