शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको इभी सवारी दुर्घटना

मंगलवार , आश्विन २१, २०८२

हेटौँडा, २१ असोज — पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा मंगलबार बिहान भएको सडक दुर्घटनामा १४ जना घाइते भएका छन् । सिन्धुलीको भिमानबाट काठमाडौंतर्फ जाँदै गरेको विद्युतीय सवारी (इभी) र एक मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

स्थानीय विवेक सिङ्तानका अनुसार, दुर्घटनामा इभीमा सवार १३ जना यात्रुसहित मोटरसाइकल चालक घाइते भएका छन् । मधेस प्रदेश ००२-००१ ज ००७२ नम्बरको इभी र ना ५२ प ५५९८ नम्बरको मोटरसाइकल बीच झुरझुरेमा ठक्कर भएको बताइएको छ ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि बागमतीस्थित सान्बी मेडिकलमा लगिएको र अवस्था गम्भीर भएकाहरुलाई थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । प्रहरीका अनुसार घटनास्थलमा टोली पुगेर आवश्यक अनुसन्धान भइरहेको छ । इभी र मोटरसाइकल दुबैको क्षति भएको र घाइतेहरूको परिचय सार्वजनिक नभएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार, उक्त स्थानमा सडक साँघुरो र मोडयुक्त भएकाले विगतमा पनि दुर्घटनाको जोखिम रहँदै आएको छ। प्रहरीले भने घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

“दुर्घटनाको सही कारण र चालकहरूको स्थिति खुल्नेबित्तिकै थप जानकारी दिइनेछ,” प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया