सिन्धुली –असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएका बीपी राजमार्गका डाइभर्सनहरू पुनः निर्माणको काम तीव्र गतिमा सुरु गरिएको छ । काभ्रे र सिन्धुली दुबै तर्फबाट समानान्तर रूपमा काम अघि बढाइँदैछ, जसले राजमार्ग चाँडै सञ्चालनमा आउने आशा जगाएको छ ।
सिन्धुलीको नेपालथोक क्षेत्रबाट पनि डाइभर्सन पुनर्निर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक डिभिजन कार्यालय खाल्डेले नेपालथोकपट्टि बगाएको भाग पुनःजोड्नका लागि मेसिनरी परिचालन गरेको छ । “हाल दुईवटा स्काभेटर प्रयोग गरी खोलाको धार फर्काउने र नयाँ डाइभर्सन बनाउन तयारी भइरहेको छ,” उहाँले बताउनुभयो ।
सडक डिभिजन कार्यालय खाल्डेका सूचना अधिकारी सुदर्शन उप्रेतीले भन्नुभयो, “हामीले प्राथमिकताका साथ सडक सञ्चालनमा ल्याउने काम अघि बढाएका छौँ । मौसम अनुकूल रहेछ भने केही दिनभित्रै सवारी सञ्चालन सम्भव हुन्छ ।”
यसअघि सडक डिभिजन कार्यालय भक्तपुरले पनि नमोबुद्ध–रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडामा बगेका डाइभर्सन पुनर्निर्माणको काम सुरु गरिसकेको छ । दुवै तर्फबाट भइरहेको कामले बीपी राजमार्ग पुनः सञ्चालनमा ल्याउने समय छोट्याउने अपेक्षा गरिएको छ ।
हाल सडक कटान भएर अवरुद्ध बनेको बीपी राजमार्ग प्रयोग गर्न नसक्दा सवारीसाधनहरू खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग, र सिन्धुली–हेटौंडा मार्ग हुँदै काठमाडौं आउजाउ गरिरहेका छन् ।
स्थानीयवासीहरूले तत्कालिक मर्मतभन्दा दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । “हरेक वर्ष बाढी आउँदा सडक बग्छ, अस्थायी डाइभर्सनले धेरै राहत दिन सक्दैन,” नेपालथोकका स्थानीय बासिन्दाहरुले भने । उनीहरूले बाढीले क्षतिग्रस्त भागहरूमा स्थायी संरचना निर्माण गरेर बीपी राजमार्गलाई दिगो बनाउन सरकारसँग माग गरेका छन् ।
बीपी राजमार्ग काठमाडौंलाई तराईसँग जोड्ने देशको प्रमुख आर्थिक जीवनरेखा हो। यसमार्फत दैनिक सयौं सवारीसाधन र मालवाहक गाडीहरू आवतजावत गर्छन् । राजमार्ग अवरुद्ध हुँदा व्यापार, आपूर्ति र यात्रु आवागमनमा प्रत्यक्ष असर पर्ने भएकाले पुनर्निर्माण कार्यलाई अत्यधिक प्राथमिकता दिइएको हो ।
नेपालथोकदेखि चौकीडाँडासम्म दुबै तर्फबाट पुनर्निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । सडक विभागका अनुसार मौसम अनुकूल रहेमा केही दिनभित्र बीपी राजमार्ग पुनः सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ।