शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

रोशी खोलाले बगाएको बीपी राजमार्ग डाइभर्सन पुनर्निर्माण सुरु

सोमवार , आश्विन २०, २०८२

काभ्रेपलाञ्चोक,२० असोज – असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको रोशी खोलाको भीषण बाढीले बीपी राजमार्गको डाइभर्सन बगाएपछि अहिले पुनर्निर्माण कार्य सुरु भएको छ ।

रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सिमानास्थल चौकीडाँडाको आसपास बगाएको डाइभर्सन पुनः बनाउन सडक डिभिजन कार्यालय भक्तपुरले काम थालिएको जानकारी दिएको छ । पानीको बहाव केही घटेपछि शुक्रबारदेखि निर्माण कार्य सुरु गरिएको हो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार सडक डिभिजन कार्यालय, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा तत्काल राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको छ । “खोलाको धार केही कम भएको छ। अब अस्थायी सडक बनाएर यातायात सञ्चालन गर्ने प्रयास सुरु भएको छ,” उहाँले भन्नुभयो ।

सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीले बीपी राजमार्ग खुलाउनका लागि वैकल्पिक योजना तयार भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चौकीडाँडाको एक ठाउँबाट मात्र नभई तीनदेखि चार स्थानबाट अस्थायी सडक निर्माण गर्ने तयारी छ । जहाँ मेशिनहरू उपलब्ध छन्, त्यही स्थानमा डाइभर्सन बनाउन थाल्ने योजना छ ।”

तर, उहाँले निर्माणमा चुनौती पनि रहेको बताउनुभयो । “रोशी खोलाको धार अहिले पनि सडक किनारसम्म आइपुगेको छ । किनारै किनार सडक लैजानुपर्ने भएकाले डाइभर्सन पुनर्निर्माणमा केही कठिनाइ छन्,” अधिकारीको भनाइ छ ।

यसअघि सरोकारवालाबीच आपसी सहयोगका साथ काम अघि बढाउने सहमति भएको छ। नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, र सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादबीचको बैठकले राजमार्ग छिटो खुलाउने र आवश्यक पुल निर्माणको पहल गर्ने सहमति गरेको छ ।

गत वर्षको असोज महिनामा आएको बाढीले बीपी राजमार्गको सो क्षेत्र बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। तर, यस वर्ष फेरि असोज १८ र १९ गतेको भारी वर्षाले उक्त अस्थायी सडक बगाएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

हाल डाइभर्सन निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेको र मौसम अनुकूल रहे केही दिनभित्र राजमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया