सिन्धुली,१९असोज — सिन्धुलीको कमलामाई नगरपालिका–७, बुद्धनगरचोकस्थित बी.पी. राजमार्गको सडकछेउको नालामा एक अज्ञात पुरुषको शव फेला परेको छ । आइतबार बिहान करिब ६ बजेतिर स्थानीयवासीले नालामा घोप्टो परेर मृत अवस्थामा एक पुरुष देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार मृतक करिब ५० देखि ५५ वर्ष उमेरका रहेका छन्, तर हालसम्म उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनास्थलको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुबेदीको कमाण्डमा प्रहरी टोली तथा अपराध स्थल परीक्षण टोली खटिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाएको जनाएको छ । मृतकको पहिचान खुलाउन आवश्यक अनुसन्धान र सूचना संकलन जारी रहेको प्रहरीको भनाइ छ ।
घटनाको कारण खुलेको छैन । प्रहरीले स्थानीयवासी तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूलाई पनि मृतकको पहिचानमा सहयोग गर्न आग्रह गरेको छ । प्रहरी नायब उपरीक्षक सुबेदीले भन्नुभयो, “मृतकको पहिचानका साथै मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।”
यस घटनाले स्थानीय क्षेत्रमा केही समय सन्त्रास फैलिएको छ भने प्रहरीले उक्त क्षेत्र वरिपरि थप अनुसन्धान र निगरानी बढाएको जनाएको छ ।