सिन्धुली,१८ असोज – हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडा दशैं २०८२ को चहलपहल चलिरहेको यही समयमा नेपालमा पुनः सक्रिय भएको मनसुन प्रणालीका कारण आगामी केही दिनसम्म देशका विभिन्न भागहरुमा लगातार भारी वर्षा हुन सक्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यससँगै सम्भावित बाढी, पहिरो र वर्षाजन्य प्रकोपको जोखिम बढ्ने देखिएकाले सर्वसाधारणले उच्च सतर्कता अपनाउन कमलामाई नगरपालिकाले अनुरोध गरेको छ ।
नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले शनिबार एक सूचना जारी गर्दै दशैंको भीडभाड र चहलपहलबीच वर्षाको उच्च जोखिमलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । “पूर्वानुमान गरिएको अवधिभर नदी किनारामा नजान, माछा मार्न, ढुंगा बालुवा संकलन गर्नेजस्ता गतिविधि तत्कालका लागि स्थगित गर्नुपर्छ,” उहाँले नगरवासीलाई अनुरोध गर्नुभएको छ ।
साथै, दशैंको टिकाटालोका लागि हुने आवागमन वा आफन्तजनहरुको यात्रा सकेसम्म स्थगित गर्न उहाँले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नदी, खोल्सामा आकस्मिक बाढी आउन सक्ने भएकाले किनार नजिक जानु खतरापूर्ण हुन्छ । वर्षा, बाढी र पहिरोसम्बन्धी सूचनाहरु नियमितरुपमा प्राप्त गरी सचेत रहन जरुरी छ ।”
यदि कुनै खालको प्राकृतिक प्रकोप घट्ने सम्भावना देखिएमा वा घटिसकेमा तत्काल वडा कार्यालय, प्रहरी इकाइ वा सम्बन्धित निकायसँग सम्पर्क स्थापित गर्न नगर प्रमुख पोखरेलले आग्रह गर्नुभएको छ । नगरपालिकाले उपलब्ध स्रोत साधनसहित उद्धार र राहतका लागि तयारी अवस्थामा रहेको पनि जनाइएको छ ।
सिन्धुली जिल्लामा विगत वर्षहरुमा समेत दशैंको समयमा लगातार वर्षासँगै बाढी र पहिरोका घटनाहरु दोहोरिँदै आएका कारण यसपालि नगरपालिकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।