सिन्धुली,०३ असोज – नेकपा एमाले जिल्ला कमिटि सिन्धुलीको सातौं पूर्ण बैठक शुक्रबार एक विशेष वातावरणमा सम्पन्न भएको छ । केही समयअघि जलेर पूर्ण क्षति भएको पार्टी कार्यालय भवनमै उठिउठी बसेर बैठक सम्पन्न भएको हो । कठिन परिस्थितिमा समेत बैठकलाई निरन्तरता दिँदै विभिन्न संगठनात्मक र राजनीतिक निर्णयहरु पारित गरिएको एमाले सिन्धुलीका अध्यक्ष महेन्द्र देव श्रेष्ठले जानकारी दिनुभयो ।
बैठक सम्पन्न भएसँगै संविधान दिवसको अवसरमा एमालेको अगुवाइमा जिल्लामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । संविधानको रक्षा, कार्यान्वयन र सबलीकरणका पक्षमा खबरदारी गर्दै एकता जुलुस निस्किएको थियो । उक्त जुलुस लोकतान्त्रिक चौतारीसम्म पुगेपछि कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गणेश कुमार पहाडीले विगतका कमजोरीका लागि जनतासमक्ष माफी माग्दै पुनः घरदैलोमा पुगेर विश्वास जित्नुपर्ने बताउनुभयो ।
पहाडीले संविधान र राजनीतिक प्रणालीलाई अस्वीकार गर्ने शक्तिहरू सक्रिय भएको भन्दै त्यसको प्रतिवादमा सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यो संविधान च्यात्ने, जलाउने, नमान्ने, प्रणालीलाई अस्वीकार गर्ने शक्तिहरू सक्रिय छन् । त्यसकारण हामी सबै मिलेर संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र नेपालको संरक्षण गर्नुपर्छ ।” कार्यक्रमका वक्ताहरुले संविधानलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई एमालेले स्विकार नगर्ने भन्दै त्यसको विरोधमा सशक्त जनआन्दोलन गर्नुपर्ने धारणा राखेका थिए ।
त्यसपछि साँझ पार्टी कार्यालयमा संविधान दिवस २०८२ विशेष दिपावली गरेर भव्यतापूर्वक मनाइएको थियो । पार्टी कार्यालय वरपर दीप प्रज्वलन गरी संविधान दिवसलाई ऐतिहासिक महत्वका साथ स्मरण गरिएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य क. गणेशकुमार पहाडी प्रमुख अतिथिको रुपमा उपस्थित थियो भने स्थानीय नेतादेखि कार्यकर्ता र सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा सहभागी सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दै एमाले सिन्धुलीका अध्यक्ष महेन्द्र देव श्रेष्ठले संविधान दिवसलाई लोकतान्त्रिक मूल्य र जनअधिकारको निरन्तरता स्वरुप अघि बढाउनुपर्नेमा जोड दिनुभयो । एमाले जिल्ला कमिटीले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई संविधान दिवस २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, समृद्धि र सुशासनको मार्गमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।