शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा संविधान दिवस : दीप प्रज्वलन र झण्डा फहराइयो

शुक्रवार , आश्विन ३, २०८२

सिन्धुली,०३ असोज – संविधान दिवसको अवसरमा शुक्रवार सिन्धुली जिल्लाभर विशेष र भव्य कार्यक्रमका साथ विविध गतिविधि सम्पन्न भएका छन् । राजनीतिक दलदेखि सरकारी तथा गैरसरकारी संस्थासम्मले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी दिवसलाई ऐतिहासिक उत्सवका रूपमा मनाएका थिए ।

शुक्रवार साँझपख जिल्लाका प्रायः सबै स्थानीय तहका कार्यालय, प्रदेश र संघीय मातहतका कार्यालयहरूमा दीप प्रज्वलन गरिएको थियो । नागरिक स्तरमा समेत घर–घरमा दीप प्रज्वलन गरिँदा वातावरण झन् उज्यालो र उत्साहपूर्ण बनेको देखिन्थ्यो । यसै अवसरमा जिल्लाभरका राजनीतिक दलहरूले विशेष सभा र अन्तरक्रियामार्फत संविधान दिवसलाई ऐतिहासिक महत्वसहित स्मरण गरेका थिए ।

संविधान दिवसकै दिन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विशेष कार्यक्रम आयोजना गरी राष्ट्रिय झण्डा फहराएको थियो । जेनजी आन्दोलनका क्रममा कार्यालय भवनसँगै जलेर नष्ट भएको झण्डालाई यसै अवसरमा पुनःस्थापना गरी प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले औपचारिक रूपमा झण्डोत्तोलन गर्नुभयो । कार्यक्रममा उपस्थित भई उहाँले संविधानलाई अझ सबल र सक्षम बनाउन पछिल्ला राजनीतिक घटनाक्रमले देखाएको सन्देशलाई जोड दिनुभयो । साथै सुशासन र नागरिकलाई दिने सेवाप्रवाहमा चुस्त–दुरुस्तता कायम गर्न सके शान्ति र स्थायित्वलाई बल पुग्ने धारणा व्यक्त गर्नुभयो ।

‘राष्ट्रिय झण्डा झण्डोत्तोलन तथा चियापान कार्यक्रम’ मा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका कर्मचारी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय सरोकारवाला व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच जिल्लाका विभिन्न स्थानमा अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम, जेनजी आन्दोलनका क्रममा जलेका कार्यालयहरुलाई सहयोग, संविधानको महत्वबारे छलफल तथा सांस्कृतिक प्रस्तुतीहरू समेत गरिएको थियो ।

प्रतिक्रिया