सिन्धुली,०३ असोज – दसैं नजिकिँदै गर्दा आमालाई “चाँडै घर आउँछु” भनेर आश्वस्त पार्ने योगेन्द्र न्यौपाने (रोशन) आज आफ्नै गाउँमा चितामा अस्ताएका छन् । निजामती सेवामा प्रवेश गर्ने सपना बोकेर वर्षौं किताब पल्टाउँदै दिन काटनुभएका २३ वर्षीय युवा आखिर राज्यकै गोलीको शिकार बन्न पुग्नुभयो ।
भदौ २३ गते सोमवारको दिन, माइतीघर–बानेश्वरको सडक आन्दोलनकारी युवाले भरिएको थियो । उनीहरूमध्ये एक जना योगेन्द्र पनि हुनुहुन्थ्यो,सपना बोकेर, असमानताविरुद्ध बोल्ने उत्साह बोकेर, र देशलाई परिवर्तन गर्ने दृढ निश्चय बोकेर। तर, त्यही सडकमा उहाँको शरीर ढल्यो । अब त्यो उत्साह, त्यो सपना र उहाँको मुस्कान सदाका लागि बन्द भयो ।
यतिखेर सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ च्याकुटारमा अहिले मातम छाएको छ । बुबा युवराज र आमा लक्ष्मीका आँसु थामिन सकेका छैनन् । भाइ सुजनले भने पीडालाई भित्रै दबाएर बुबा आम,ा र दिदीलाई सम्हाल्ने भूमिका लिनुभएको छ । “दाइ कहिल्यै आन्दोलनमा जान्थेनन्, कसरी त्यसरी गए ? अझै पनि सपना हो कि जस्तो लाग्छ,” सुजनले भक्कानिँदै भन्नुभयो ।
उनीहरूको चाँगुनारायण नगरपालिका, दुवाकोटमा पनि घर थियो । योगेन्द्र र सुजन त्यहि बसेर पढेका थिए । चाँगुनारायण माध्यमिक विद्यालयबाट एसईई पास गर्नुभएका दुवै दाजुभाइमा दाइलाई असल र अनुशासित विद्यार्थीका रूपमा शिक्षकहरूले सम्झन्छन् । “उनी निकै मेधावी थिए, भविष्य उज्ज्वल देखिएको थियो,” विद्यालयका शिक्षक सुरेश ढुंगानाले भन्नुभयो, “तर भाग्यले यति निर्दयी ढंगले किन लेख्यो ?”
त्रिचन्द्र कलेजमा सामाजिक कार्य (सोसियल वर्क) पढ्दै गर्नुभएका योगेन्द्र ८ वर्षदेखि लोक सेवाको तयारीमा हुनुहुन्थ्यो । यता सुजन विदेशतर्फ लाग्ने तयारीमा हुनुहुन्थ्यो । मेनपावरबाट वर्क पर्मिट आएका बेला अन्तिम भेट दुई महिनाअघि भएको थियो, जब सुजन रोमानियाको वर्क पर्मिट लिएर तयारीमा थिए । त्यतिबेला दाइले भनेका थिए, “म यहीं बसेर केही गर्छु, तँ जा । घर र तँलाई जे गर्नुपर्छ, म गर्छु ।”
योगेन्द्र खराब संगतमा कहिल्यै रमाउनुभएन्, बरु भाइलाई असल बाटोमा हिँड्न जोड दिनुहुन्थ्यो । घटना हुने दिन पनि उहाँले सुजनलाई आईपीओका विवरण पठाउनुभएको थियो । तर, सुजनको मोबाइलमा पठाएको अन्तिम मेसेज ‘सिन’ मात्रै भयो, डेलिभर हुन पाएन । “सायद ऊ निस्किसकेको रहेछ । त्यसपछि उसले कहिल्यै रिप्लाइ गरेन,” सुजनको आवाज अझै रोदनले काँप्छ ।
दसैंमा आमासँग टिका लगाउन घर फर्किने सपना बोक्नुभएका योगेन्द्र तर जिउँदो नभई मृत शरीरको रूपमा फर्किनुभयो । उहाँसँगै नष्ट भयो एउटा परिवारको खुसी, एउटा पुस्ताको आशा र एउटा गाउँको भविष्य ।