शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सात बर्ष अघि प्रहरीमा भर्ना भएका सिन्धुलीका असई मिलन प्रहरी सेवामै अस्ताए

बिहिवार , आश्विन २, २०८२

सिन्धुली,०२ असोज — जेन–जीको नेतृत्वमा भएको आन्दोलनपश्चात् भदौ २४ गते मंगलबार राजधानीमा भडकिएको प्रदर्शनले प्रहरी संगठनलाई ठूलो क्षति पुर्‍याएको छ । त्यस क्रममा सिन्धुलीका प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको ज्यान गयो ।

डेढ वर्षको उमेरमै ब्लड क्यान्सरले बुबा गुमाउनुभएका राय सात वर्षअघि नेपाल प्रहरीमा प्रवेश गर्नुभएको थियो र इमानदार, कर्मठ र निरन्तर संघर्षशील अधिकारीका रूपमा परिचित हुनुहुन्थ्यो । बुबाको मृत्युका कारण मानसिक आघातमा पर्नुभएको आमासहारा बन्न नसक्दा, काका केशव रायले उहाको पालनपोषणदेखि अध्ययनसम्मको जिम्मेवारी उठाउनुभयो । सिन्धुलीको लदाभिर (हाल दुधौली नगरपालिका–८) जन्मिनुभएका मिलन पढाइमा तेज हुनुहुन्थ्यो ।

एसएलसीमा प्रथम श्रेणी ल्याएपछि काठमाडौं जानुभएका उहाँले प्लस–टु र व्यवस्थापन विषयमा स्नातक अध्ययन पूरा गर्नुभयो । पुष्पलाल मेमोरियल कलेजका टपरका रूपमा चिनिनुभएका उहाँ २०७४ सालमा प्रहरी सेवामा असई पदमा नियुक्त हुनुभयो । इलाका प्रहरी कार्यालय रामेछापमा दरबन्दी भएको उहाँ पछिल्लो समय महाराजगञ्ज प्रहरी वृत्तमा अपराध अनुसन्धान शाखामा कार्यरत हुनुहुन्थ्यो ।

त्यो दिन पनि उहाँ सामान्य पोसाकमै काममा हुनुहुन्थ्यो । प्रहरीले दाबी गरेअनुसार, प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा नियन्त्रणका क्रममा उहाँ एक्लै पर्नुभयो र कुटपिटको शिकार बन्नुभयो । काका केशव रायले दिएको जाहेरीअनुसार, मिलनलाई सडकमा घिसार्दै लात्तीले प्रहार गरी हत्या गरिएको छ, जसको भिडियोसमेत सार्वजनिक भएको छ ।

मृत्यु अघि केही घण्टा मात्र मिलनले काकालाई “म सुरक्षित छु, सटरभित्र बसेको छु” भन्दै आश्वस्त गराउनुभएको थियो । तर केहीबेरमै उहाँको जीवन अन्त्य भयो । एक वर्षअघि मात्रै विवाह गर्नुभएका रायकी श्रीमती अध्ययनका लागि ४ महिनाअघि मात्र जापान जानु भएको थियो् ।

तीन दाजुभाइमध्ये कान्छा मिलन सामान्य पृष्ठभूमिबाट उठनुभएका प्रहरी अधिकृत भए पनि पेशागत निष्ठा र ईमानदारीले चिनिनुहुन्थ्योे । सहकर्मीले उहाँलाई मिलनसार र कर्तव्यनिष्ठ प्रहरीको रूपमा स्मरण गरेका छन् भने परिवारले न्यायका लागि कानुनी प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया