सिन्धुली,०१ असोज– राष्ट्रिय शोक दिवसकै दिन सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ च्याकुटारस्थित योगेन्द्र न्यौपानेको घरमा शोकको वातावरण अझ गहिरो देखिन्थ्यो । जेन जी आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर भाद्र २३ गते काठमाडौंमा ज्यान गुमाउनुभएका उहाँप्रति परिवारजनले दशौँ दिनको काजकिरिया सम्पन्न गर्दै थिए । गाउँघरका नजिकका आफन्तदेखि राजनीतिक र सामाजिक सरोकारवालासम्मको भिडले उनको घरलाई शोकमग्न बनाएको थियो ।
२३ वर्षीय योगेन्द्र व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्थ्यो । जीवनको महत्वपूर्ण चरणमा लोकसेवा आयोगको परीक्षाका लागि तयारीरत उहाँ राजनीतिमा नभई मेहनत र आफ्नै सामथ्र्यमार्फत देशमा योगदान पु¥याउने सोचमा हुनुहुन्थ्यो भन्ने कुरा उहाँका आफन्तहरूले सम्झिरहेका थिए । तर, परिवर्तनको माग गर्दै सडकमा उत्रिएका युवासँगै उनको पनि यात्रा अन्ततः बलिदानमा टुंगियो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गरिसकेको छ । सरकारले यसलाई केवल व्यक्तिगत पीडा मात्र नभई पुस्ताको आक्रोश र आकांक्षाको अभिव्यक्ति मानेको छ । तर मृतकका आफन्तहरूको भावनाले अझै गहिरो सन्देश बोकेको छ ।
योगेन्द्रका बुबा उमेश न्यौपानेले भन्नुभयो, “आन्दोलनका क्रममा हाम्रो परिवारको सदस्य गुमेको छ, त्यसको पीडा हामीलाई छँदै छ, पीडा भइरहेको छ । राज्यले जतिसुकै गरे पनि त्यसको पूर्ति पारिवारिक हिसाबले हुन सक्दैन । तापनि राज्यले सम्झेको छ, शहीद घोषणा गरेको छ र केही क्षतिपूर्ति पनि दिएको छ, त्यसका लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ ।
उहाँले अगाडी धन्नुभयो “तर त्योभन्दा अझ बढी हाम्रो अपेक्षा के हो भने अहिले युवा पुस्ताले जुन खालका आवाजहरू सडकमा उठाएको थियो, राज्यमा व्याप्त भ्रष्टाचार, बेथिति, निराशा, बेरोजगारीको विकराल र बढ्दो समस्या, यो देशमा केही पनि सम्भव छैन भनेर युवाहरू विदेश पलायन पनि भइरहेका थिए... अब त्यो खालको आवाज फेरि अर्को पुस्ताले उठाउनु नपरोस् । देश परिवर्तनतर्फ अघि बढोस् र हाम्रो परिवारबाट बगेको रगतको सार्थकता प्रमाणित होओस् हाम्रो अपेक्षा यही नै हो ।”
परिवारजनका अनुसार भ्रष्टाचार, बेरोजगारी, निराशा र विदेश पलायनको विकराल समस्या विरुद्ध युवाले सडकमा उठाएका आवाज अब अर्को पुस्ताले पुनःउठाउन नपरोस् भन्ने नै योगेन्द्रको रगतको वास्तविक सम्मान हुनेछ ।
शोकमा डुबेका परिवारजनले मृत्युसंस्कारको काम गर्दै गर्दा सिन्धुलीको गोलन्जोरबाट उहँका एक आफन्तले परिवर्तनका लागि योगेन्द्रले बगाएको रगत खेर जान दिनु नहुने र त्यसका लागि खबरदारी गरिरहनुपर्ने धारणा राखेका छन् ।
शोकको धुलो अझै नओसरिँदै परिवारले दिएको सन्देश स्पष्ट छ,सडकमा बगेको रगतले अब नयाँ युगतर्फ देशलाई धकेल्न सक्नुपर्छ। मृतक योगेन्द्र न्यौपानेलाई केवल एक परिवारका सन्तानका रूपमा नभई देश परिवर्तनका यात्रामा पुस्ताले गरेको बलिदानका प्रतीकका रूपमा सम्झनुपर्ने अपेक्षा अब सिन्धुली मात्र होइन, सम्पूर्ण देशले बोकेको छ ।