सिन्धुली,०१ असोज – असोज १ गतेदेखि बिपी राजमार्ग २४ घण्टा सञ्चालनमा ल्याइने भएको छ । मनसुन सुरु भएलगत्तै बाढी–पहिरोको उच्च जोखिमका कारण काभ्रेपलाञ्चोकदेखि सिन्धुलीको नेपालथोकसम्मको खण्डमा रातिको समयमा आवागमनमा रोक लगाइएको थियो ।
तीन महिना लामो यो रोक हटाउने निर्णय काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले गरेको हो । बैठकले मनसुनको सक्रियता घट्दै गएको र चाडपर्वमा यात्रुहरूको सहजतालाई प्राथमिकता दिँदै सडक २४ घण्टा खुला गर्ने निष्कर्ष निकालेको छ । समितिले भने यात्रुको सुरक्षाका लागि पूर्व स्वीकृत सडक सुरक्षा कार्ययोजनाअनुसार सतर्कता अपनाइने बताएको छ ।
प्रशासनले यसअघि असार पहिलो सातादेखि राति १२ घण्टा पूर्णरूपमा यातायात बन्द गरेको थियो, जसलाई पछिल्लो पटक भदौ १६ देखि थप १५ दिनका लागि निरन्तरता दिइएको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि खुर्कोटसम्मका थुप्रै स्थानहरू अत्यन्तै जोखिमयुक्त भएकाले त्यहाँ विशेष रोक लगाइएको थियो । काठमाडौँ प्रवेश गर्ने सवारीलाई नेपालथोकमै रोकिने व्यवस्था र काठमाडौँबाट बाहिरिने सवारीलाई काभ्रेभञ्ज्याङमै रोक्ने प्रणाली अपनाइएको थियो ।
यो निर्णय चाडपर्व नजिकिँदै गर्दा आएको हुनाले यसको महत्व झनै बढेको छ । दशैं–तिहारमा लाखौं यात्रु आफ्ना गन्तव्यमा पुग्ने तयारीमा हुन्छन् । उनीहरूलाई रातिको समयमा सवारी रोकिँदा लामो प्रतिक्षा र अनावश्यक दुर्गम बासको पीडा भोग्नु परेको थियो। यसपटक त्यो समस्या अन्त्य भएको छ भन्ने आशा गर्न सकिन्छ ।
गत वर्ष असोज महिनामा आएको ठूलो बाढी–पहिरोले चौकीडाँडादेखि वर्षेखोलासम्मको आठ किलोमिटर सडक पूरै बगाएको र त्यसपछि अस्थायी आवागमन मात्रै सम्भव भएको अनुभवलाई ध्यानमा राख्दै प्रशासनले सावधानीका उपायहरू अघि सारेको हो । बाढी–पहिरोले खुर्कोट–नेपालथोक ३४ किलोमिटर र नेपालथोक–धुलिखेल ५० किलोमिटर सडक खण्डमा ठूलो क्षति भएको थियो । अहिले भने राजमार्गलाई स्थायी रुपमा पुनःनिर्माण गर्न चारवटा खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ ।
राजधानीलाई पूर्वी नेपालसँग नजिक बनाउने यो राजमार्गलाई देशकै जीवनरेखा मानिन्छ । दैनिक हजारौँ यात्रु र मालवाहक सवारीसाधन यही बाटो प्रयोग गर्ने भएकाले यसलाई २४ घण्टा सञ्चालनमा ल्याउने निर्णयले यात्रु र व्यवसायी दुवैलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । दशैँ–तिहारको यात्रामा यसबाट सहजता पुग्ने बताइएको छ ।
बीपी राजमार्गलाई देशकै जीवनरेखा भनिन्छ । पूर्व–पश्चिमको व्यापारिक नशा यही बाटो हो । त्यसैले यो सडक सधैं सुरक्षित, स्थायी र विश्वासिलो हुनुपर्छ । चाडपर्वको भीडमा मात्र होइन, वर्षभरि नै नागरिकले यसलाई सहज र सुरक्षित रुपमा उपयोग गर्न पाउनुपर्छ ।
यसैकारण, आजदेखि खुलेको बीपी राजमार्ग यात्रुको सुविधा मात्र होइन, राज्यको जिम्मेवारीको पनि कठोर परीक्षा बनेको छ । यात्रुहरूले राहत पाए, अब सरकारले जिम्मेवारी निर्वाह गरेर ‘जीवनरेखा’लाई वास्तवमै सुरक्षित र स्थायी बनाउनुपर्छ। यही नै समयको माग हो ।