शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

आगजनीपछि फरार २५२ कैदी पुनः सिन्धुली कारागारमा फर्किए

मंगलवार , भाद्र ३१, २०८२

सिन्धुली,३१ भदौ – भदौको २५ गते आगजनी र तोडफोडपश्चात सिन्धुली कारागारबाट फरार भएका कैदीमध्ये केही पुनः फर्किन थालेका छन् । सुरुवाती अवस्थामा भागेर हराएका ४७१ मध्ये २५२ जना कैदी कारागारमै उपस्थित भइसकेको सिन्धुली कारागार प्रशासनले जनाएको छ । फरार भएकामध्ये धेरैजसो आफैं उपस्थित भएका र केहीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरी ल्याइएको जानकारी दिइएको छ ।

कारागार प्रशासनका अनुसार बाँकी कैदीहरूको खोजी कार्य अझै जारी छ । प्रहरी र स्थानीय प्रशासनले संयुक्त रूपमा नजिकैका गाउँ–बस्ती र सम्भावित लुक्ने स्थानहरूमा चेकजाँचलाई तीव्र पारेका छन् । फर्किएका कैदीहरूमध्ये धेरैले परिस्थिति असामान्य भएकै कारण भाग्न बाध्य भएको बताइरहेका छन् भने अहिले सुरक्षाको विश्वास पाएपछि कारागारमा फर्किन थालेका हुन् ।

यस घटनाले कारागार सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । आगजनी र तोडफोडले कारागारको संरचनात्मक क्षति मात्र नभई प्रशासनिक चुनौती पनि थपिएको छ। अहिले कारागार व्यवस्थापनलाई पुनः सामान्य अवस्थामा ल्याउने, बाँकी फरारलाई खोजी गर्ने र भविष्यमा यस्ता घटना नदोहरिने उपाय खोज्ने कार्यलाई प्राथमिकतामा राखिएको कारागार स्रोतले जनाएको छ ।

प्रतिक्रिया