शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कमलामाई नगरपालिकाको योजना तथा कार्यक्रम स्थगित

मंगलवार , भाद्र ३१, २०८२

सिन्धुली,३१ भदौ – भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा कमलामाई नगरपालिकाको मुख्य कार्यालयसँगै ४, ५ र ६ नम्बर वडा कार्यालयमा आगजनी र तोडफोड भएको घटनापछि नगरपालिकाले आगामी योजना तथा कार्यक्रमहरू अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

सो क्रममा कार्यालयको विद्युत तथा इन्टरनेट नेटवर्किङ प्रणाली, कम्प्युटर, प्रिन्टरलगायतका प्रविधिगत सामग्रीहरू, कार्यालयका महत्वपूर्ण कागजातहरू र भौतिक संरचनामासमेत ठूलो क्षति पुगेको छ । नगर कार्यपालिकाको मंगलवार बसेको बैठकले यस्तो अवस्थामा कार्यालय सञ्चालन नै प्रभावित भएको भन्दै आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नगर विकास योजनामा समावेश भएका कार्यक्रमहरूको सम्झौता र सञ्चालन कार्य अर्को निर्णय नभएसम्म नहुने निर्णय गरेको हो ।

नगरपालिकाले घटनाबाट कार्यालय सेवाग्राहीलाई समेत असर पर्न गएको भन्दै अवस्था सामान्य भएपछि मात्र योजनागत कार्य अघि बढाइने स्पष्ट गरेको छ । यसअघि तोडफोड र आगजनीका कारण नगर प्रशासन पूर्ण रूपमा अवरुद्ध बनेको थियो भने कार्यालयका कर्मचारी र सेवाग्राहीलाई समेत गम्भीर असुविधा भोग्नुपरेको छ ।

प्रतिक्रिया