शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्री घाइते

सोमवार , भाद्र ३०, २०८२

सिन्धुली ३०, भदौ – सिन्धुलीको दुधौली नगरपालिका–५ स्थित ठाकुरखोला पुल नजिक आइतवार दिउँसो सवारी दुर्घटना भएको छ । मदनभण्डारी राजमार्ग हुँदै पूर्वबाट चितवनतर्फ जाँदै गरेको सुनसरी, इटहरी उपमहानगर–१३ निवासी ३५ वर्षीय चालक दिलकुमार माझीले चलाइरहेको को २ च १८८९ नम्बरको सोनापुर स्वास्थ्य चौकी दुहबी, सुनसरीको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेका इलेक्ट्रीक साइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेका इलेक्ट्रीक साइकलका चालकक दुधौली नगरपालिका–१० निवासी ४८ वर्षीय समरबहादुर तामाङ घाइते भएका छन् । उनलाई तत्कालै उद्धार गरी दुधौली नगर अस्पताल सिर्थौलीमा प्राथमिक उपचार पछि थप उपचारकोलागी बेलुकी पौने ५ बजेतिर विराटनगरतर्फ रेफर गरिएको हो ।

घाइतेसँगै उनकी भतिजी अञ्जु सुनुवार पनि उपचारको क्रममा संलग्न भएकी छन् । दुर्घटनाको समयमा एम्बुलेन्समा मुटुका बिरामी चढेका कारण सो सवारी भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त साइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एम्बुलेन्सको आवश्यक कागजात समेत सुरक्षित राखिएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया