सिन्धुली,२९ भदौ – जेनजी आन्दोलनकै दौरान सिन्धुली कारागारबाट नाटकीय ढंगले भागेका कैदी ४७१ जना मध्ये प्रहरीले ठूला संख्यामा पुनः नियन्त्रणमा लिन सफल भएको छ । पछिल्ला तथ्यांकअनुसार भागेकामध्ये २२९ जनालाई पक्राउ गरी पुनः हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
भागेका कैदीलाई खोजतलास गर्ने क्रममा प्रहरीको विशेष टोलीले विभिन्न गाउँ–टोलदेखि जंगल र सडक खण्डसम्म व्यापक रूपमा चेकजाँच गरेको थियो । नियन्त्रणमा परेकाहरूलाई पुनः कारागारमा पठाउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले थप भगौडा कैदीहरू पनि अझै फरार रहेको बताउँदै, उनीहरूलाई नियन्त्रणमा ल्याउन निरन्तर खोजी अभियान जारी राखेको स्पष्ट पारेको छ ।
कारागार भगाउने घटना सँगसँगै सुरक्षाकर्मीमाथि चर्को आलोचना भएको थियो । स्थानीयवासीहरूले पनि प्रहरीको खोजतलासमा सहयोग गरेका थिए । प्रहरीले भने यसलाई ठूलो चुनौतीका रूपमा लिएर समन्वयपूर्वक काम गरिरहेको जनाएको छ ।
यसअघि आन्दोलनको भीडभाड र सुरक्षाकर्मीहरूको व्यस्ततालाई अवसर बनाएर सयौँ कैदी बाहिर निस्किएका थिए । यसले मुलुककै कारागार सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ । अहिले नियन्त्रणमा परेका कैदीलाई कडाइका साथ पुनः कारागारमा राख्ने तयारी भइरहेको र सुरक्षालाई अझ कडाइ गर्ने तयारी भएको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।