सिन्धुली,२८ भदौ – हालै मुलुकभरका विभिन्न कारागार तोडफोड हुँदै कैदी–बन्दीहरू भागेका घटनापछि सिन्धुलीमा व्यापक खोजी अभियान चलाइएको छ । सोही क्रममा सिन्धुली कारागारबाट भागेका मध्ये २१६ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीको सतर्कता र स्थानीयबासीको सहयोगमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यसैगरी, अन्य जिल्लाका कारागारहरूबाट भागेर सिन्धुलीमा आश्रय लिएका १८ जना कैदीसमेत नियन्त्रणमा लिइएका छन । यसरी फरारहरूलाई पक्राउ गर्दै लैजाने क्रममा अहिले सिन्धुलीमा सुरक्षाको उपस्थिति अझ कडा पारिएको छ ।
सुरक्षा निकायका अनुसार पक्राउ परेका कैदीलाई आवश्यक कानुनी प्रकृया पूरा गरी सम्बन्धित कारागारमा पु¥याइने तयारी भइरहेको छ । कैदीहरूको ठूलो संख्यामा पुनः नियन्त्रणमा आउनु कानूनको शासन र नागरिक सुरक्षाको दृष्टिकोणले सकारात्मक प्रगति भएको भन्दै स्थानीयबासीले पनि राहत महसुस गरेका छन् ।