सिन्धुली,२८ भदौ – जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले गत भदौ २३ र २४ गते भएको विरोध–प्रदर्शनका क्रममा जिल्लाभित्र सरकारी, सार्वजनिक तथा निजी भवनमा आगजनी, तोडफोड र लुटपाटका घटना व्यापक रूपमा भएपछिे त्यस्ता गतिविधिमा संलग्न वा सामान सुरक्षित राखेका व्यक्तिहरूलाई तत्काल फिर्ता गर्न सार्वजनिक अपिल गरेको छ । जिल्ला प्रशासनका अनुसार तोडफोडको क्रममा सरकारी कार्यालयमा रहेका महत्वपूर्ण अभिलेख र कागजातसहित कम्प्युटर, ल्यापटप, प्रिन्टर, क्यामेरा, पंखा, ब्याट्री, अन्य विद्युतीय उपकरण, नगद, गरगहना, मूर्ति, उपहार तथा विभिन्न धातुजन्य सामग्रीहरूसम्म चोरी वा लुटपाट भएको छ । यस्तै, फर्निचर, सञ्चार उपकरण, सुरक्षा सेट र सार्वजनिक सम्पत्तिसमेत हराएका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गर्नुभएको सूचनामा कतिपय सचेत नागरिकहरूले सार्वजनिक सम्पत्ति आफ्नो पनि भएको ठानी केही सामान सुरक्षित स्थानमा राखेको जानकारी प्राप्त भएकाले त्यस्ता सामग्री इमान्दारीपूर्वक सम्बन्धित निकायलाई बुझाउन आग्रह गरिएको छ । साथै, ती वस्तुहरूको खरिद–बिक्री वा किनबेच नगर्न र नगराउन समेत चेतावनी दिइएको छ । प्रशासनले कुनै पनि सूचना वा जानकारी भएमा नजिकैको सुरक्षा निकायलाई खबर गर्न र फेला परेका सामान तुरुन्त बुझाउन अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ, “यदि सामान फिर्ता नभएर निजी स्वार्थका लागि प्रयोग, सञ्चय वा खरिद–बिक्री गरिएको पाइएमा सिसिटिभी फुटेज, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र अन्य प्रमाणका आधारमा दोषी पहिचान गरी कानुनअनुसार कारबाही हुनेछ ।”
प्रशासनले विशेषगरी कार्यालयबाट हराएका कम्प्युटर, ल्यापटप, क्यामेरा जस्ता उपकरण व्यक्तिगत प्रयोगका लागि सम्भव नभएको र ती प्रणालीमा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित संवेदनशील डेटा मात्र रहेको स्पष्ट पारेको छ ।
प्रमख जिल्ला अधिकारी भुसालले जिल्लावासीलाई अपिल गर्दै भन्नुभयो, “यी सम्पत्ति हाम्रै सार्वजनिक सम्पत्ति हुन् । त्यसैले फिर्ता गरेर जिम्मेवार नागरिकताको पहिचान देखाउन सबैलाई अनुरोध गर्दछौँ ।”
