शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सडक विस्तारसँगै सिन्धुलीका गाउँगाउँमा बजारको रौनक

शनिवार , भाद्र २८, २०८२

सिन्धुली,२९ भदौ – लामो समयसम्म दुर्गमको संज्ञाले चिनिएको सिन्धुलीका गाउँ–गाउँ अहिले सडक सञ्जाल विस्तारसँगै एकाएक बदलिन थालेका छन् । बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्ग जस्ता राष्ट्रिय मार्गका शाखा सडकहरू गाउँसम्म पुगेसँगै यहाँका विभिन्न क्षेत्र बिस्तारै बजारमा परिणत भइरहेका छन् ।

स्थानीयवासीका अनुसार केही वर्षअघिसम्म दैनिक उपभोग्य वस्तु वा निर्माण सामग्री किन्न घण्टौँ पैदल यात्रा गर्नुपथ्र्यो । तर अहिले काठमाडौं, पोखरा, हेटौंडा, विराटनगर र वीरगञ्जजस्ता सहरका सामानहरू गाडीमार्फत गाउँसम्मै पुग्न थालेका छन् । यसले गाउँघरमै पसलहरू बढेको छ, जहाँ सामान्य नुन, तेल, चामलदेखि लत्ता–कपडा र घरायसी उपभोग्य सामान सहजै पाइने अवस्था बनेको छ । फिक्कल गाउँपालिका–२ का लिलाधर पहाडी भन्नुहुन्छ, “अब गाउँमै पसल छ, दैनिक आवश्यकता पूरा गर्न सहर धाउनुपर्ने बाध्यता हटेको छ ।”

जिल्लाका करिब एक दर्जनभन्दा बढी ठाउँमा साना–ठूला बजार विस्तार भइरहेका छन् । सदरमुकाम सिन्धुलीमाडी मात्रै नभई कमलाखुज, खुर्कोट, खाल्टे, मुलकोट, रातमाटा, नेपालथोक, महाभारत र मरिण क्षेत्रलगायतका स्थानमा समेत शहरीकरणको गति बढेको स्थानीय बासिन्दाले बताएका छन् । तिनपाटन गाउँपालिका–८ का घनश्याम समाल मगर भन्नुहुन्छ, “पहिला यहाँ सुनसान थियो, घरै थिएन, अहिले भने बजार, पसल र घरहरू बढेर गाउँको रूपरङ्गै फेरिएको छ ।”

सडक खुलेसँगै गाउँलेले स्वास्थ्य उपचारजस्ता सेवा सुविधा नजिकै पाउन थालेका छन् । पहिले साधारण उपचारका लागि समेत घण्टौँ बाटो हिँडेर सहर पुग्नुपर्ने बाध्यता हटेको छ । दुधौलीका रेखराज दाहाल भन्नुहुन्छ, “सडक आएपछि मान्छे तल झरेर बजारमा बस्न थाले, घर–पसल बने, अस्पतालसमेत खुले । अब बिरामी परे पनि तुरुन्तै नजिकै उपचार पाउन सक्छौं ।”

सिन्धुलीका पुराना बजारहरूमा व्यापारिक गतिविधि घट्दै गए पनि नयाँ सडकले गाउँ–गाउँमा नयाँ सम्भावना खोलेको व्यापारीहरू बताउँछन् । अब गाउँकै आँगनमा व्यापारको चहलपहल देखिन थालेको र ग्रामीण जीवनशैली बिस्तारै शहरी रुपतर्फ उन्मुख भएको स्पष्ट देखिन थालेको छ ।

सिन्धुलीका विभिन्न गाउँमा भारी बोकेर खाद्यान्नलगायत सामग्री लैजाने भरियाको ठाउँमा गाडीले ढुवानी गर्न थालेका छन् । गाउँगाउँमा बजार विस्तार भएपछि जनतालाई सहज भएको दाहालले बताउनुभयो ।

सडक छेउमा बस्ती विस्तार हुनेक्रम बढ्दै गएपछि यस क्षेत्रको रौनक नै फेरिएको उहाँले बताउनुभयो । “सडक आएपछि माथिमाथि गाउँबाट मान्छे तल झरेर सडक छेउमा घर बनाउन थाले, पहिला सुनसान हुने ठाउँमा अहिले निकै रमाइलो र चहलपहल भयो”, दाहालले भन्नुभयो ।

सडक आयो, बजार बन्दैछ, बजारमा ठूला होटल पसलसँगै अस्पताल पनि बनेका छन्, त्यसले गर्दा अब बिरामी परेर डोलामा बोकेर टाढा जानुपर्ने बाध्यता हटे, नजिकै अस्पताल छ, त्यहीँ गएपछि उपचार हुन्छ”, दुधौलीका खेटराज अधिकारीले भन्नुभयो, “पहिले मोटर गुड्ने बाटो पनि थिएन, अस्पताल पनि नजिक थिएन, निकै समस्या थियो, अहिले मोटरबाटो पनि आयो, बजार पनि बन्यो र अस्पताल पनि बन्यो, हामीलाई निकै सजिलो भयो ।”

प्रतिक्रिया