शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको जनजिबन सामान्य बन्दै

बिहिवार , भाद्र २६, २०८२

सिन्धुली,२६ भदौ – भदौ २३ गते सोमबार जेनजी आन्दोलन नियन्त्रणबाहिर जाँदा भयावह बनेको सिन्धुलीको जनजीवन बिहिवार बिस्तारै सामान्यतर्फ फर्कन थालेको छ । तोडफोड बन्द–हड्तालका कारण थलिएर सुनसान बनेका बजार फेरि खुल्न थालेका छन्   । प्रमुख सरकारी कार्यालय, निजी आवासमा आगजनी, लुटपाट जस्ता अकल्पनीय घटना भएपछि मंगलबार रातिदेखि नेपाली सेनाको नेतृत्वमा शान्ति सुरक्षाका लागि सेना परिचालन गरिएपछि अवस्था शान्तिपूर्ण बन्दै गएको हो ।

 

स्थानीय पसल र किराना खुल्दा खरीद–बिक्रीको चहलपहल बढेको छ भने चोक–चौराहामा मानिसको भीडले सामान्य दिनचर्या फर्किएको आभास दिएको छ । बिहान–साँझ चिया पसलदेखि तरकारी बजारसम्म सामान्य क्रियाकलाप चल्न थालेपछि व्यापारी र ग्राहक दुवै सहज महसुस गर्न थालेका छन् ।

सार्वजनिक यातायात अझै पूर्ण रूपमा सुचारु नभए पनि साना सवारी साधन आंशिक रूपमा चल्न थालेका छन्, जसले यात्रुहरूको आवत–जावतलाई सहज तुल्याएको छ । यद्यपि, लामो दूरीका यातायात र मालवाहक सवारी अझै निर्वाध रूपमा सञ्चालन हुन सकेका छैनन् । तर दैनिक आवश्यकतामा टेकेको स्थानीय जनजीवन फेरि लयमा फर्कदै जान थालेको देखिन्छ ।

प्रतिक्रिया