शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीका तीन दल एकै स्वर : निकास संविधानमै खोजौँ

बिहिवार , भाद्र २६, २०८२

सिन्धुली,२६ भदौ – सिन्धुलीका तीन प्रमुख राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एमाले र नेपाली काँग्रेसले संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा जेन–जी पुस्ताद्वारा सञ्चालित आन्दोलनका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनीहरूले देशभर फैलिएको आन्दोलनलाई लोकतान्त्रिक अधिकारको अभिव्यक्ति माने पनि हिंसात्मक गतिविधिले जनजीवनमा परेको नकारात्मक प्रभावप्रति गम्भीर आपत्ति जनाएका छन् ।

नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेल, नेकपा (एमाले) सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिर्घराज श्रेष्ठ द्वारा हस्ताक्षरित सयुक्त विज्ञप्तिमा भनिएको छ, “भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वरमा भएको दोहोरो झडपमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का २६ वर्षीय रोशन न्यौपानेसहित अन्य ज्यान गुमाएका नागरिक, आन्दोलनमा सहभागी युवा अभियन्ता र सुरक्षाकर्मीहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरिन्छ । साथै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क उपचारको तत्काल व्यवस्था गर्न सरकारले पहल गर्नुपर्ने माग गरिएको छ ।”

भदौ २४ गतेदेखि सिन्धुलीसहित देशका विभिन्न स्थानमा सार्वजनिक संरचना, स्थानीय तहका कार्यालय र राजनीतिक दलका कार्यालयहरूमा भएको तोडफोड र आगजनीप्रति तीन दलले दुःख प्रकट गर्दै लाखौँ मूल्य बराबरको राष्ट्रिय तथा व्यक्तिगत सम्पत्ति नष्ट हुनु ठूलो क्षति भएको ठहर गरेका छन् । विज्ञप्तीमा आन्दोलनको नाममा हिंसात्मक गतिविधि हुनु कुनै हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार रहन र शान्ति, सदभाव तथा संयमता कायम राख्न आग्रह गरिएको छ ।

यस्तै, विज्ञप्तिमा वर्तमान राजनीतिक संकटको समाधान २०७२ सालको संविधानले तोकेको मर्म, भावना र प्रस्तावनाभित्र खोजिनुपर्नेमा जोड दिइएको छ। देशलाई अन्तर्राष्ट्रिय जगतमा थप विश्वसनीय बनाउन र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै पक्ष एकताबद्ध हुनुपर्नेमा दलहरूले जोड दिएका छन्। विज्ञप्तामा आगामी राजनीतिक निकासका लागि जेन–जी पुस्तासँग संवाद र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

 

 

 

प्रतिक्रिया