सिन्धुली,२४ भदौ – देशभर फैलिएर गएको जेनजी पुस्ताको आन्दोलनले सोमबार काठमाडौंको सडकलाई तातेको थियो । तर, यही आन्दोलनमा प्रहरीको गोली लागेर सिन्धुलीका एक विद्यार्थीले ज्यान गुमाउँदा परिवार मात्र होइन, सिंगो गाउँ शोकमा डुबेको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ च्याकुटारका २६ वर्षीय रोशन न्यौपाने त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्थ्यो । उच्च शिक्षाका लागि काठमाडौं बसिरहनुभएका रोशन आन्दोलनमा सहभागी हुँदा बानेश्वरमा प्रहरीद्वारा चलाइएका गोलीको शिकार बन्नुभयो । उहाँको मृत्युको खबर गाउँसम्म आइपुग्दा शिक्षण पेशामा संलग्न उहाँका बुबा उमेश न्यौपानेदेखि लिएर सम्पूर्ण परिवार र आफन्तजन एकाएक शोकसागरमा डुबेका छन् । रोशन दुई छोरामध्ये जेठा हुनुहुन्थ्यो, जो परिवारलाई सम्भाल्ने र भविष्यको आशा बन्नुभएको थियो ।
यही घटनामा सिन्धुलीका नविन तामाङ र मदन कार्की घाइते हुनुभएको छ । उहाँहरूको काठमाडौंमै उपचार भइरहेको छ । आन्दोलनमा सहपाठीलाई गुमाउनु परेको खबरले विद्यार्थी समुदायमा ठूलो असन्तोष थपिएको छ भने गोलन्जोर गाउँपालिका नै स्तब्ध बनेको छ । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, जो मृतक रोशनका आफन्त पनि हुनुहुन्छ, उहाँलेभन्नुभयो, “पढ्न गएका छोराले आन्दोलनमै ज्यान गुमाउँदा केवल परिवार मात्र होइन, सिंगो पालिका नै शोकमा छ । राज्यले यसरी निर्दोष नागरिकको रगत बगाउनु निन्दनीय छ ।”
सरकारविरुद्धको असन्तोष व्यक्त गर्न आयोजित शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनले परिस्थितिलाई अझै तनावपूर्ण बनाएको छ । रोशनको मृत्युले जेनजी आन्दोलनमा एउटा नयाँ घाउ थपेको छ, जसले युवाको क्रोधलाई अझ बलियो बनाएको छ ।
आज रोशन मात्र होइन, सिंगो पुस्ताको प्रश्न राज्यतर्फ केन्द्रित छ,शान्तिपूर्ण विरोधको अधिकारलाई बलप्रयोग गरेर दबाउने हो भने लोकतन्त्रको आधारभूत मूल्य नै प्रश्नमा पर्नेछ ।