शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सम्भावना बोकेको सिन्धुलीमा पर्यटन विकासको रणनीति अझै अपूरा

मंगलवार , भाद्र २४, २०८२

सिन्धुली – सिन्धुली प्राकृतिक सुन्दरतादेखि लिएर ऐतिहासिक र सांस्कृतिक सम्पदासम्मले भरिपूर्ण जिल्ला हो । यहाँको सिन्धुलीगढी, हरिहरपुरगढी, पञ्चकन्या पोखरी, फिक्कलका दृश्यावलोकन स्थल र विभिन्न धार्मिक स्थलहरू आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका प्रमुख गन्तव्य बन्नसक्ने सम्भावना बोकेका छन् । तर, यथार्थ यति रमाइलो छैन । स्थानीय सरकारहरूले वर्षेनी पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याएको दाबी गरे पनि, त्यो व्यवहारमै प्रभावकारी बन्न नसकेको स्पष्ट देखिन्छ ।

विगत पाँच वर्षयता केन्द्र, प्रदेश र स्थानीय सरकारबाट पर्यटन प्रवद्र्धनका लागि करोडौं रुपैयाँ खर्च गरिएको छ । तर, केही सीमित स्थानबाहेक अन्य धेरै गन्तव्य अझै पनि उपेक्षित छन् । प्रचार–प्रसारको कमी, आधारभूत पूर्वाधारको अभाव, तालिमप्राप्त जनशक्तिको कमी, असुरक्षित यातायात र सरकारी निकायबीच समन्वयको कमी नै प्रमुख चुनौतीका रूपमा देखिन्छन् ।

सिन्धुलीको ऐतिहासीक सिन्धुलीगढीले पछिल्लो दशक आन्तरिक तथा बाह्य पर्यटक तान्न सफल भएपनि सिन्धुलीको अन्य पर्यटकीय स्थलहरु हरिहरपुरगढी, पन्चकन्या पोखरी, फिक्कल लगायतका स्थानले खासै पर्यटक तान्न सफल भएको देखिदैन । बर्षौ देखी केन्द्र, प्रदेश तथा स्थानीय सरकारको लगानी भएपनी त्यसको प्रतिफल स्थानीय सरकारले लिन सकेका छैनन् ।

स्थानीय बासिन्दा र नागरिक समाजका प्रतिनिधिहरू पनि यो अवस्थाप्रति चिन्तित देखिन्छन् । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले भन्नुभयो, “सिन्धुलीमा ऐतिहासिक र धार्मिक मूल्य बोकेका धेरै धरोहर छन् । ती संरक्षण र प्रवद्र्धन गर्न सकेमा पर्यटनले मात्र पनि हामीलाई आत्मनिर्भर बनाउन सक्छ ।” तर, अझै पनि स्थानीय तहहरूले पर्यटनलाई रोजगार सिर्जना र स्थानीय उत्पादनको बजारसँग जोड्न पर्याप्त पहल नगरेको उहाँको गुनासो छ ।

यद्यपि, केही पालिकाले भने पहल गरेका छन् । मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले भन्नुभयो, “हामीले पर्यटकीय सम्भावना भएका पञ्चकन्या पोखरी, दरबार डाँडा टुडिखेल, धुरी ढुंगाजस्ता स्थानलाई पर्यटकीय गन्तव्य बनाउन योजना अघि सारेका छौं , केवल स्थानीय सरकारको स्रोतमा ठूला पूर्वाधार सम्भव छैनन्, त्यसका लागि केन्द्र सरकारको पर्याप्त सहयोग जरुरी छ ।”

यस्तोमा, ऐतिहासिक र सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै, आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने ठोस कार्ययोजना बनाउनु आजको आवश्यकता हो। सिन्धुलीलाई पर्यटनको केन्द्र बनाउन स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य, पारदर्शिता र प्रतिबद्धता अपरिहार्य छ । अन्यथा, सम्भावनाले भरिएको यो जिल्ला केवल रिपोर्ट र भाषणमै सीमित रहिरहने छ ।

प्रतिक्रिया