सिन्धुली, – बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका ‘सहिद स्मृति पार्क’हरु संरक्षणको अभावमा बेवारिसे बन्न थालेका छन् । जनआन्दोलन, माओवादी ‘जनयुद्ध’ र पञ्चायतविरुद्धको आन्दोलनमा जीवन गुमाएका सहिदहरूको स्मृतिमा निर्माण गरिएका पार्कहरू हाल बिस्तारै गोठालो लगाउने ठाउँमा परिणत हुँदै गएका छन् ।
सिन्धुलीमा हालसम्म विभिन्न स्थानमा सहिद स्मृति पार्क निर्माण सुरु गरिए पनि अधिकांश अधुरै अवस्थामा रहेका छन् । निर्माण सम्पन्न भएकामध्ये कतिपयमा घेराबारको अभाव, नियमित मर्मतसम्भार नहुँदा अव्यवस्थित देखिन थालेको स्थानीयको गुनासो छ । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष ०८१÷८२ मा लाखौँ रुपैयाँको बजेट विनियोजन गरेर पार्क निर्माण सुरु गरेको भए पनि त्यसको उपयोगिता प्रश्नवाचक बनेको हो ।
उदाहरणका लागि, मरिण गाउँपालिका–७ मा २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सहिद स्मृति पार्क अहिले स्थानीय किसानका लागि गोठालोमा परिणत भएको छ । सो पार्कमा नेपाल सरकारले शहीद घोषणा गरेका करिब डेढ दर्जन व्यक्तिका शालिक राखिए पनि आवश्यक संरचना, सुरक्षा प्रबन्ध र संरक्षण नभएकाले अब्यवस्थित अवस्थामा पुगेको छ ।
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले पार्कलाई सुरक्षित बनाउन प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्कलाई घेराबारसहित व्यवस्थित बनाउन गत वर्ष ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर काम सुरु गरेका छौं । अधुरो कामलाई निरन्तरता दिँदै जानेछौं ।”
यस्तै, सुनकोशी गाउँपालिका–५ देउकी डाँडामा निर्माण गरिएको सहिद स्मृति पार्कको अवस्था पनि उस्तै छ । करिब १८ लाख रुपैयाँको लागतमा १७ जना सहिदको शालिक राखिएको भए पनि आवश्यक पूर्वाधार अभावमा पार्क जीर्ण बन्दै गएको वडाध्यक्ष सुरथकुमार बसेलले बताउनुभयो । पार्क घेराबेराका लागि गाँउपालिकाले यो वर्षका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरेको उहाँले सुनाउनुभयो ।
बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लामा कमलामाई नगरपालिका–४ स्थित ठूलीचौरी, तीनपाटन गाँउपालिका–४ मझुवादोभान, गोलन्जोर गाँउपालिका–६ देउरालीटार, घ्याङ्लेख गाँउपालिका–१ सिम्लेखोला, दुधौली नगरपालिका–१० स्थित लभडाँडामा सहिद स्मृती पार्क निर्माण सुरु गरिएको छ ।
कमलमाई नगरपालिका–४ ठूलीचौरीमा गत आर्थिक बर्षबाट निर्माण सुरु गरिएको शहिद स्मृती पार्क बजेट अभावमा बीचमा नै अलपत्र परेको स्थानीय बासिन्दा बताउँछन् । उक्त स्मृती पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रेशमबहादुर पोखरेल गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेकोले निर्माण सुरु गरेको र यो बर्षका लागि कतैबाट बजेट बिनियोजन नभएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘उक्त बजेटबाट डिपिआर बनाउने, चौरी सम्याउने, शालिक राख्ने ठाँउ निर्माण, प्रतिक्षालय, नाला निर्माण लगायतका संरचना बनाउने काम भएको छ ।’
बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले सहिद स्मृति पार्कहरूलाई कुनै पक्षको मात्र नभई सम्पूर्ण सहिदहरूको सम्मानका प्रतीकका रूपमा निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपयले यसलाई माओवादीले मात्र मारेका सहिदका लागि भनेर पूर्वाग्रही दृष्टिले हेरिएको देख्छु । तर यो त राज्यले नै सहिद घोषणा गरेका सबैको सम्झनामा बनाइएको स्मृति पार्क हो, यसलाई निरन्तर मर्मत गर्न प्रदेश सरकार सचेत छ ।”
स्थानीय बासिन्दाहरू भने समयमै मर्मत सम्भार नभएर सरकारी लगानी खेर जाने डर व्यक्त गर्दै तत्कालीन संरचनालाई संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरिरहेका छन् ।